Sagun Khabar
जेन–जी आन्दोलनमा शहीद बनेका बैतडीका दीपक घाइतेको सूचीमा !

बैतडी–गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलन र प्रदर्शनका क्रममा गोली लागेर गम्भीर घाइते भइ उपचारका क्रममा मृत्यु भएका बैतडीको शिवनाथ गाउँपालिका– २ का दीपकसिंह साउदलाई गृह मन्त्रालयले भने घाइतेको सूचीमै राखेको छ ।

जिल्ला प्रशासन कार्यालय बैतडीले मंगलबार एक सूचना जारी गर्दै गृह मन्त्रालयको असोज २० को पत्रमार्फत बैतडी जिल्लामा स्थायी बसोबास भएका ६ जना जेन–जी आन्दोलनमा घाइते भएका व्यक्तिलाई घाइते परिचयपत्र लिनका लागि सम्पर्क गर्न अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बैतडीले जारी गरेको सूचनामा जेन–जीका ६ जना घाइतेको सूचीमा मृतक दीपकसिंह साउदको नाम पनि उल्लेख छ । गृह मन्त्रालयले उपलब्ध गराएको सूची अनुसार नै जिल्ला प्रशासन कार्यालय बैतडीले सूचना प्रकाशन गरेको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम गौतमले बताए । उनले भने, ‘हामीले गृहमन्त्रालयले उपलब्ध गराएको सूचना प्रकाशन गरेका हौं । सूचीमा नाम सार्वजनिक भएका व्यक्ति एकीन गरेर मात्रै परिचय पत्र वितरणको काम हुन्छ ।’

जेनजी आन्दोलनको क्रममा शहीद भएका दीपकको परिवारलाई सरकारले दिने आर्थिक बाफतको १५ लाख रुपैयाँ उपलब्ध गराइसकेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । सूचीमा रहेका घाइतेहरुलाई एकीन गरेर मात्रै परिचय पत्र उपलब्ध गराइने उनले बताए । 

जिल्ला प्रशासन कार्यालयले प्रकाशित गरेको घाइतेको सूचीमा रहेका दीपक शिवनाथ गाउँपालिका– २ कै जेन–जी आन्दोलनमा गोली लागेर गम्भीर घाइते भई मृत्यु भएका दीपक रहेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण सिंह साउदले बताए ।

मृतक साउँदका परिवारलाई शिवनाथ गाउँपालिकाले पनि एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरिसकेको छ । उक्त रकम केही दिनभित्रै उपलब्ध गराइने अध्यक्ष साउँदले बताए । 

एक वर्षदेखि काठमाडौंको कीर्तिपुरमा डेरा गरी कोरिया जाने तयारी गरिरहेका दीपक भदौ २४ मा भएको जेन–जी प्रदर्शनका क्रममा गोली लागेर गम्भीर घाइते भएका थिए । उनको उपचारकै क्रममा काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।

यस्तै जिल्ला प्रशासन कार्यालय बैतडीले प्रकाशित गरेको जेन–जी आन्दोलनमा घाइते भएकालाई घाइते परिचयपत्र वितरण गर्ने सूचनामा बैतडीकै मनीष ठगुन्ना, हरिश भुल, बासु पूजरा, लक्ष्मण भण्डारी र हरिकृष्ण भण्डारी रहेका छन् ।

घाइतेहरुलाई परिचयपत्रका लागि जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  १७:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update