Sagun Khabar
बैतडीमा नयाँ मतदाता थपिँदै 

बैतडी –बैतडीमा धमाधम नयाँ मतदाता थपिन थालेका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या बढ्दै गएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

गएको असोज ९ गतेदेखि अहिलेसम्म ३ सय १ जनाले मतदाता नामावलीमा नामदर्ता गराएको जिल्ला निर्वाचन कार्यालय बैतडीका निमित्त प्रमुख पुरुषोत्तम जोशीले बताए । मतदाता नामावली नाम दर्ता गर्नेमा युवा उमेर समूहका नागरिक बढी रहेका उनले बताए । 

कात्तिक २८ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने जोशीले बताए । 

जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्क अनुसार बैतडीमा १८ बर्ष पूरा भएका १ लाख ५४ हजार २१६ जना मतदाता रहेका छन् । जसमध्ये महिला ७६ हजार ८३४, पुरुष ७७ हजार ३८०जना र अन्य दुई जना रहेका छन्  । 

गएको प्रतिनिधि सभा निर्वाचन २०७९ मा जिल्लामा एक लाख ५० हजार १५६ मतदाता रहेका थिए । सो निर्वाचनमा ७८ हजार ३६९ (५२ प्रतिशत) मत खसेको थियो । अघिल्लो प्रतिनिधि सभा निर्वाचनभन्दा आउने प्रतिनिधि सभा निर्वाचनमा मतदाता सङ्ख्या बढ्ने देखिएको छ । एक मात्रै सङ्घीय निर्वाचन क्षेत्र रहेको बैतडीमा दुई वटा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र, १० वटा स्थानीय तह र ८४ वटा वडा रहेका छन् । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२  १३:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update