
बैतडी–बैतडीको सिगास गाउँपालिकामा एम्बुलेन्स सेवा शुरु भएको छ ।
काठमाण्डौं महानगरपालिकाले गाउँपालिकालाई एम्बुलेन्स उपलब्ध गराएपछि एम्बुलेन्स सेवा शुरु भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख घनश्याम बोहराले बताए ।
शिवलिङ्ग स्वास्थ्यचौकीले सञ्चालन गर्ने गरेर एम्बुलेन्स सेवा सञ्चालन गरिएको बोहराले जानकारी दिए । सिगास गाउँपालिकाको केन्द्र गर्जेसम्म कच्ची सडकको पहुँच पुगेसँगै एम्बुलेन्स सेवा सञ्चालन गरिएको हो ।
एम्बुलेन्स सञ्चालनका लागि आवश्यक कार्यविधि बनाएर एम्बुलेन्स सेवा सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताए । एम्बुलेन्स सञ्चालनमा आएपछि यहाँका नागरिकलाई सहज भएको छ ।
गाउँपालिकाले चालु आर्थिक बर्षमा एम्बुलेन्स खरीद गर्ने योजना बनाएको र गाँजरी स्वास्थ्यचौकीमार्फत सञ्चालन गर्ने तयारी रहेको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताए ।
आकस्मिक बिरामी र समस्यामा परेका बिरामीहरुलाई एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि सहज भएको गाउँपालिका उपाध्यक्ष धाना धामीले बताइन् ।
सिगास गाउँपालिकामा अहिले कच्ची सडकको पहुँच पुगेको छ । बर्षातको समयमा एम्बुलेन्स चलाउन सहज नहुने भएपनि हिउँदको समयमा एम्बुलेन्स सञ्चालन गर्न सकिने स्वास्थ्य शाखा प्रमुख बोहराले बताए ।