Sagun Khabar
सुर्नयामा तालाबन्दी : सम्वादबाटै समस्याको समाधान गर्ने अध्यक्ष कुँवरको भनाइ, जेनजी समूहले गुहार्यो प्रशासन र समन्वय समिति

बैतडी –बैतडीको सुर्नया गाउँपालिकामा गरिएको तालाबन्दी वार्ता र सम्वादकै माध्यमबाट खोल्ने गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताएका छन् । 

गएको शुक्रबार जेनजी समूहले आफूहरुले माग गरेको सूचना नदिएको भन्दै गाउँपालिकामा तालाबन्दी गरेको थियो । गाउँपालिकामा तालाबन्दी गरिएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष कुँवरले युवाहरुले उठाएका मागहरुप्रति आफू सकारात्मक रहेको जनाएका छन् । 

तालाबन्दी गर्ने पक्षसँग आफू निरन्तर सम्वादमा रहेको भन्दै अध्यक्ष कुँवरले कतिपयले भ्रम छरिरहेकाले त्यसबाट सजग रहन समेत आग्रह गरेका छन् । गाउँपालिकामा युवाहरुले राखेका माग सम्बोधन गर्न र कानुन अनुसार दिन मिल्ने सूचना दिन आफू तयार रहेको समेत उनले उल्लेख गरेका छन् । 

यसैबीच सुर्नया गाउँपालिकामा गरिएको तालाबन्दीका बिषयमा आवश्यक समन्वय गरिदिनका लागि जेनजी समूहले जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेका छन् । 

दुवै कार्यालयमा आज निवेदन दिँदै आफूहरुले उठाएका माग र बिषयवस्तुको बारेमा समेत जानकारी गराएको जेनजी अगुवा विशाल भट्टले बताए । आफूहरुले राखेका मागका बिषयमा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, गाउँकार्यपालिका समेतको सहभागितामा लाइभ छलफल हुनुपर्ने र माग पूरा गर्ने सुनिश्चिततापछि तालाबन्दी खोल्ने उनले बताए । 

आफूहरुले तालाबन्दी गर्दा कुनै गलत मनसाय नराखेको भन्दै भट्टले भ्रष्टाचारमुक्त सुर्नया आफूहरुको अभियान रहेको बताए । आफूहरुको पनि गाउँपालिकामा गरिएको तालाबन्दी छिटो खुलोस भन्ने चाहना रहेको भट्टले बताए । 
गएको शुक्रबारदेखि गाउँपालिकामा तालाबन्दी हुँदा सबै कामकाज ठप्प भएका छन् भने सेवाग्राही समेत मारमा परेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२  १८:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update