
बैतडी –पूर्व सहायक मन्त्री एवं बैतडीको पाटन नगरपालिकाका निवर्तमान नगर प्रमुख केशवबहादुर चन्दले प्रदेश संरचना खारेज गर्नुपर्ने बताएका छन् ।
बैतडीको पाटनमा आज आयोजना गरिएको शुभकामना आदान–प्रदान तथा पत्रकार भेटघाट कार्यक्रममा पूर्व सहायक मन्त्री चन्दले स्थानीय सरकारलाई अझै बलियो बनाइ प्रदेश संरचना खारेज गर्नुपर्नेमा जोड दिए ।
गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन नागरिक आक्रोशको उपज भएको भन्दै उनले जनअपेक्षा अनुसार विगतका सरकारहरुले काम गर्न नसकेको बताए । उनले भने, ‘विगतका सरकारहरुकै कमजोरीका कारण अहिलेको समस्या सिर्जना भएको हो । यसमा दलका शीर्ष नेताहरुले ध्यान दिनु आवश्यक छ ।’
वर्तमान संकटको समाधानका लागि राजालाई समेत समेटेर निकास दिनुपर्नेमा उनले जोड दिए । अहिलेको सन्दर्भमा विपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीतिको कार्यान्वयन आवश्यक रहेको बताउँदै उनले कांग्रेसले यो बिषयमा ध्यान दिएर अघि बढ्नुपर्नेमा जोड दिए ।
राजनीतिक दलहरुले आफ्नो सिद्धान्त अनुसार काम गर्न नसक्दा नागरिकस्तरमा आक्रोश पैदा भएको बताउँदै पूर्व सहायक मन्त्री चन्दले नागरिकको भावना अनुसार काम गर्नुपर्नेमा जोड दिए ।
आगामी फागुन २१ गते तोकिएको चुनावका लागि राजनैतिक दलहरु तयार भएमात्रै सम्भव हुने उनले बताए ।
लामो समयदेखि नेपाली कांग्रेसमा आवद्ध नेता चन्द २०७९ सालको निर्वाचनमा कांग्रेसले गरेको गठबन्धन विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका थिए । पछि उनले नेपाली कांग्रेसमा फर्केको घोषणा समेत गरेका थिए ।
आफू विगत ४० बर्षदेखि राजनीतिमा सक्रिय रहेको बताउँदै चन्दले प्रजातान्त्रिक पद्दतिले मात्रै देशको विकास हुने बताए । आफू अझै पनि समाज सुधारका काममा सक्रिय रहने उनले बताए ।