
बैतडी –बैतडीमा दशैँको समयमा ८ ओटा सवारी दुर्घटना भएका छन् । दशैँको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म ८ ओटा सवारी दुर्घटनामा परेर एकजनाको मृत्यु हुनुका साथै १८ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।
जिल्लाका विभिन्न ८ ओटा स्थानमा सवारी दुर्घटना भएका पाण्डेयको भनाइ छ । अन्य समयको तुलनामा चाडपर्वको समयमा भीडभाड बढी हुने, क्षमताभन्दा बढी यात्रु बोक्ने, तीव्र गतिमा सवारी साधन हाँक्ने लगायतका कारणले दुर्घटना हुने गरेको प्रहरी निरीक्षक पाण्डेयले बताए ।
चाडपर्वको समयमा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले ठाउँठाउँमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको प्रहरी निरीक्षक पाण्डेयले बताए । तर त्यसको बापजुत पनि विभिन्न स्थानमा सवारी दुर्घटना भएका उनको भनाइ छ ।
चाडपर्वको समयमा ग्रामीण कच्ची सडकहरुमा समेत सवारी साधन सञ्चालन गर्ने परिपाटीले सडक दुर्घटना बढी हुने गरेको बताइएको छ ।
सवारी दुर्घटना न्यूनीकरणका लागि सबैले ट्राफिक नियमको पालना गर्नुपर्नेमा प्रहरी निरीक्षक पाण्डेयले जोड दिए ।