Sagun Khabar
शिवनाथमा राष्ट्रिय परिचय पत्र दर्ता शिविर : ६ सय ३१ जनाले सेवा लिए 

बैतडी–बैतडीको शिवनाथ गाउँपालिकामा सञ्चालन भएको राष्ट्रिय परिचय पत्र दर्ता शिविरबाट ६ सय ३१ जनाले सेवा लिएका छन् । 

गएको साउन २७ गतेदेखि असोज ३ गतेसम्म गाउँपालिकामा सञ्चालन भएको शिविरमा गाउँपालिकाबासीहरुले राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ता गरेका हुन् । शिविरमा विवरण दर्ता गरेकाहरुले परिचय पत्र नम्बर प्राप्त गरिसकेका गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए । 

गाउँपालिकाको आयोजना र जिल्ला प्रशासन कार्यालयको प्राविधिक सहयोगमा सञ्चालन भएको शिविरमा स्थानीय नागरिकहरुले सेवा लिएका अध्यक्ष साउँदले बताए । सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरुलाई लक्षित गरेर शिविरको आयोजना गरिएको भएपनि सबैले सेवा लिएको उनले बताए । 

सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरुका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि गाउँपालिकामै शिविर सञ्चालन गरेर परिचय पत्र दर्ताको काम गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले बताए । जेष्ठ नागरिकहरुलाई परिचय पत्र बनाउन सदरमुकाम आउन ÷जान समस्या भएपछि प्रशासनको प्राविधिक सहयोगमा पालिकामै शिविर सञ्चाल गरेको उनले बताए । 

प्रत्येक वडाका नागरिकहरुलाई सेवा लिन सहज होस् भनेर वडा अनुसार मिति तय गरेर शिविर सञ्चालन गरिएको गाउँपालिकाका सूचना अधिकारी महेश महताले जानकारी दिए । 

जिल्लाका सबै स्थानीय तहमा शिविरमार्फत राष्ट्रिय परिचय पत्रको विवरण संकलनको काम भइरहेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए । सम्बन्धित स्थानीय तहको समन्वयमा परिचय पत्र दर्ता शिविर सञ्चालन गरिएका उनले बताए । 

स्थानीय नागरिकहरुको समस्यालाई ध्यानमा राखेर सम्बन्धित तहमै शिविरमार्फत राष्ट्रिय परिचय पत्रको विवरण संकलनको काम भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । 
 

प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  १०:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update