Sagun Khabar
बेलमती धामीका सन्तानलाई सहयोग रकम हस्तान्तरण 

बैतडी–बैतडीको सिगास गाउँपालिका–२ पिडेगोदा गाँजरीकी ३४ बर्षीया बेलमती धामीको हत्या भएपछि उनका पाँच सन्तानलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । 

अभिभावक विहिन भएका उनीहरुका लागि नागरिकस्तरबाट सञ्चालन गरिएको अभियानमार्फत संकलित रकम आइतबार हस्तान्तरण गरिएको अभियान्ता सूर्यबहादुर बोहराले बताए । 

गत भदौ २२ गते राति बञ्चरो प्रहार गरेर भतिजा यज्ञसिंह धामीले बेलमतीको हत्या गरेका थिए । चार बर्ष अघि जण्डिस रोगबाट श्रीमान गुमाएकी बेलमती समेत नरहेपछि उनका पाँच छोराछोरी अभिभावक विहिन भएका छन् । 

आमा–बुवा दुवै गुमाएका बालबालिकाहरुको सहयोगका लागि अभियान सञ्चालन गरिएको र संकलन भएको २ लाख ७५ हजार रुपैयाँ हस्तान्तरण गरिएको बोहराले बताए । 

भारतमा सिगासकै युवा खुमन परियार र नेपालमा सूर्यबहादुर बोहराको पहलमा सहयोग अभियान सञ्चालन गरिएको थियो । भारतबाट टुहुरा बालबालिकाहरुका लागि ८३ हजार रुपैयाँ संकलन भएको थियो भने बाँकी नेपालबाटै संकलन भएको बोहराले बताए । 

संकलित रकममध्ये ७ हजार नगद हस्तान्तरण गरिएको र बाँकी रकम बेलमतीका छोरा सन्तोषसिंह धामीको खातामा जमा गरिएको बोहराले बताए । 

बेलमतीकी जेठी छोरी कक्षा ९ मा अध्ययनरत छन् । अब बाँकी तीन बहिनी र एक भाइको पालनपोषण गर्ने जिम्मा उनकै काँधमा आएको छ । टुहुरा बालबालिकाहरुलाई जीवनयापनमा केही सहयोग होस भनेर अभियानमार्फत रकम संकलन गरेको बोहराले बताए । 
 

प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  १७:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update