Sagun Khabar
जेनजी प्रदर्शन : दार्चुलामा आठ कार्यालयमा क्षति 

दार्चुला –जेनजी पुस्ताको प्रदर्शनका क्रममा दार्चुलाका आठ कार्यालयमा क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाकाअनुसार हालसम्म आठ वटा कार्यालयमा क्षति भएको प्रारम्भिक विवरण रहेको छ । क्षतिको पूर्ण विवरण भने आउन बाँकी रहेको जनाइएको छ ।  

गत भदौ २४ गते भएको प्रदर्शनका क्रममा जिल्लाका तीन वटा राजनीतिक दलका पार्टी कार्यालय, दुई वटा वडा कार्यालय, जिल्ला कारागार, गोकुलेश्वर अस्पताल र रेडियो लोकदर्पण एफएमको कार्यालयमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए । प्रदर्शनका क्रममा काँग्रेसको पार्टी कार्यालयमा ६५ हजार नगदसहित जिन्सी, भौतिक संरचनालगायत सम्पूर्ण सामग्री नष्ट गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को कार्यालयभित्रका कम्प्युटर, अन्य उपकरणसहित कार्यालय तोडफोड भएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को कार्यालयमा रहेको शहीद प्रतिष्ठानमा करिब ९९ हजार बराबरको क्षति पुगेको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको प्रजिअ पौडेलले बताए । 

जिल्ला कारागार कार्यालयमा दुई वटा सिसी क्यामेरासहित करिब  ५१ हजार ५०० रुपैयाँ बराबरको क्षति पुगेको छ । गोकुलेश्वर अस्पतालमा क्षति भएको भएपनि यकिन विवरण आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

गत भदौ २६ गते दुहुँ गाउँपालिका–३ को कार्यालयमा आगजनी हुँदा चारकोठे भवनसहित वडा कार्यालयको एउटा कोठा जलेर नष्ट भएको छ । वडा कार्यालयभित्रका सम्पूर्ण कम्प्युटर, प्रिन्टरलगायत सामग्रीमा क्षति पुगेको छ । वडा कार्यालयमा ७२ लाख ६ हजार ७ सय रुपैयाँ बराबरको क्षति पुगेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

यसैगरी, गत भदौ २८ गते शैल्यशिखर नगरपालिका–२ को वडा कार्यालयमा तोडफोड गरिएको थियो । 

लेकम गाउँपालिका–५ मा रहेको सामुदायिक रेडियो लोकदर्पण एफएफमा प्रदर्शनकारीले ढुङ्गामुढा प्रहार गरेको प्रशासनले जनाएको छ । प्रदर्शनपछि अहिले सबै ठाउँबाट नियमित सेवा सञ्चालन भइरहेको उनले बताए । 
 

प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  १६:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update