Sagun Khabar
चाडपर्व लक्षित सुरक्षा योजना बनाउने तयारीमा बैतडी प्रहरी 

बैतडी –बैतडी प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना बनाउने तयारी गरेको छ । गत विगतमा चाडपर्व शुरु हुनुभन्दा पहिला नै चाडपर्व लक्षित सुरक्षा योजना बनाएर लागू गर्ने गरिएको भएपनि यो बर्ष जेनजी आन्दोलनका कारण सुरक्षा योजना बनाउने कार्यमा ढिलाइ भएको हो । 

यो बर्ष अन्य संवेदनशील बिषयमा केन्द्रित हुनुपरेकाले चाडपर्व लक्षित सुरक्षा योजना निर्माणमा केही ढिलाइ भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले तत्काल सुरक्षा योजना बनाएर लागू गर्न निर्देश गरेकाले एक÷दुई दिनभित्रै सुरक्षा योजना बनाइने उनले बताए । उनले भने, ‘यो बर्ष चाडपर्व लक्षित सुरक्षा योजना निर्माणमा केही ढिलाइ भएको छ । तर अब चाँडै सुरक्षा योजना निर्माण हुन्छ । सोही अनुसार जिल्लाभरी प्रहरी परिचालन हुन्छ ।’

चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत चाडपर्वको समयमा हुन सक्ने अवाञ्छित गतिविधिलाई रोक्ने बिषयमा केन्द्रित हुने बताइएको छ । यस्तै दशैँको समयमा विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा लाग्ने जात्रालाई व्यवस्थित बनाउने बिषय पनि सुरक्षा योजनामा समेटिने प्रहरी निरीक्षक बडूले बताए । 

यस्तै चाडपर्वको समयमा सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्लाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइने उनले बताए । यो बर्षको बडादशैँ सोमबारदेखि शुरु हुँदैछ । सम्भवतः सोमबारदेखि नै यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइने प्रहरी निरीक्षक बडूले बताए । 

चाडपर्वको समयमा समस्यामा परेका यात्रुहरुलाई गन्तव्यमा पुर्याउन सहयोग गर्ने, तोकिएको भाडाभन्दा बढी लिएको पाइएमा कारवाही गर्ने, समस्यामा परेका यात्रुहरुलाई सहयोग गर्ने उद्देश्यसहित यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।  
 

प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  १३:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update