
बैतडी –बैतडीको दशरथचन्द नगरपालिका–४ शाहीलेकस्थित जगन्नाथ महिला बचत तथा ऋण सहकारी संस्थाले बार्षिक साधारण सभामा विभिन्न क्षेत्रका १३ जनालाई सम्मान गरेको छ ।
संस्थाको शनिबार सम्पन्न भएको २७ औं बार्षिक साधारण सभामा संस्थापक, कर्मचारी र सहयोगीहरुलाई सम्मान गरिएको सहकारी संस्थाकी व्यवस्थापक दुर्गा ठगुन्नाले बताइन् ।
जगन्नाथ महिला बचत तथा ऋण सहकारी संस्थाले तीन जना जेष्ठ शेयर सदस्य कलावती ठगुन्ना, गंगा थापा र राजु लोहनीलाई सम्मान गरेको हो । उनीहरुलाई नगदसहित दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरिएको छ ।
यस्तै उत्कृष्ट बचतकर्ताको रुपमा कलावती ठगुन्ना, जानकी ठगुन्ना र वसन्ती तिरुवालाई सम्मान गरिएको व्यवस्थापक दुर्गा ठगुन्नाले बताइन् ।
यस्तै सहकारी संस्थाका जग्गादाता एवं संस्थापक अध्यक्ष बिमला श्रेष्ठ र निवर्तमान अध्यक्ष अम्बिका भण्डारीलाई पनि नगदसहित दोसल्ला र प्रमाणपत्र दिएर सम्मान गरिएको छ ।
सहकारी संस्थामा कार्यरत तीन जना कर्मचारीहरुलाई सम्मानित गरिएको छ । व्यवस्थापक दुर्गा ठगुन्ना, बचत सहायक पुष्पा भण्डारी र ऋण सहायक संगीता लोहनीलाई सम्मान गरिएको सहकारी संस्थाले जनाएको छ ।
यसैगरी सहकारी संस्थाको कार्यालय व्यवस्थापनमा फर्निचर उपलब्ध गराएर सहयोग गरेको भन्दै समाजसेवी दिनेश ठगुन्ना र ऋण असुलीमा महत्वपूर्ण भूमिका खेलेको भन्दै ऋण उपसमिति सदस्य शान्ति ठगुन्नालाई पनि सम्मान गरिएको बताइएको छ ।
सहकारी संस्थाका अध्यक्ष नन्दादेवी पालको अध्यक्षतामा भएको बार्षिक साधारण सभामा दशरथचन्द नगरपालिकाका सहकारी विभाग प्रमुख अम्बादत्त बोगटी प्रमुख अतिथी रहेका थिए ।
बार्षिक साधारण सभामा प्रतिवेदन पेश गर्दै व्यवस्थापक दुर्गा ठगुन्नाले संस्थाका आयव्यय विवरण ३ करोड ५६ लाख रुपैयाँ रहेको जानकारी दिइन् । यस्तै बार्षिक साधारण सभाले आगामी बर्षको नीति तथा कार्यक्रम र बजेट पारित गरेको उनले बताइन् ।
महिलाको नेतृत्वमा सञ्चालन रहेको जगन्नाथ महिला बचत तथा ऋण सहकारी संस्था यो क्षेत्रको सक्रिय सहकारीको रुपमा सञ्चालनमा रहेको छ । सहकारीमा एक हजार बढी शेयर सदस्य आवद्ध रहेका बताइएको छ ।
ग्रामीण महिलाहरुको बित्तीय क्षेत्रमा पहुँच पुर्याउन, महिलाहरुलाई उद्यमी बनाउन र सशक्त बनाउन सहकारीले भूमिका खेलीरहेको अध्यक्ष पालले बताइन् । आगामी दिनमा पनि सहकारी संस्थालाई अझै उत्कृष्ट बनाउने प्रयास जारी रहने उनले बताइन् ।