Sagun Khabar
बैतडीमा ६० जना कैदीबन्दी कारागार फर्किए, दुई जना अझै फरार 

बैतडी –जेनजी पुस्ताको प्रदर्शनका क्रममा बैतडी कारागारबाट भागेका ६२ जना कैदीबन्दी तथा थुनुवामध्ये ६० जना कारागार फर्किएका छन् । 

गत भदौ २४ गते राति कारागारमा तोडफोड र आगजनी गरेर भागेका कैदीबन्दी तथा थुनुवामध्ये ६० जना कारागारमा फर्किसकेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए । 

फरार रहेका कैदीबन्दीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेर कारागारमा ल्याइएको प्रहरी निरीक्षक बडूले बताए । धेरै कैदीबन्दी आँफै सम्पर्कमा आएर कारागार फर्किएका छन् भने चार जनालाई भारतबाट पक्राउ गरिएको प्रहरी निरीक्षक बडूले बताए । 

कारागारबाट भागेकामध्ये ६० जना कारागारमा फर्किसकेका र दुई जना अझै फरार रहेका कारागार कार्यालय बैतडीकी प्रमुख धारा भण्डारीले बताइन् । फरार रहेका दुईजनाको पनि प्रहरीमार्फत खोजी कार्य जारी रहेको उनले बताइन् । 

बैतडी कारागारमा ५४ जना कैदीबन्दी र ८ जना थुनुवा रहेकोमा भदौ २४ गते राति सबै भागेका थिए । अहिले कारागारमा एक जना थुनुवा थपिएका छन् । 

जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनी गरिएको कारागारको बन्दी गृहलाई व्यवस्थापन गर्ने कार्य भइरहेको प्रमुख भण्डारीले बताइन् । उनले तोडफोड गरिएका सामग्री खरीद गरी व्यवस्थापन गर्ने कार्य भइरहेको उनले बताइन् । 

२५ जना बस्ने क्षमता रहेको बन्दीगृहमा क्षमता भन्दा झण्डै तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको भण्डारीले बताइन् । 
 

प्रकाशित मिति: शनिबार, असोज ४, २०८२  ०९:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update