Sagun Khabar
बैतडीमा ५८ जना कैदीबन्दी प्रहरी नियन्त्रणमा, चार जना अझै फरार 

बैतडी–जेनजी प्रर्दशनका क्रममा गत भदौ २४ गते बैतडी कारागारबाट भागेका ६२ जना कैदीबन्दीमध्ये ५८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

बुधबार साँझसम्म ५८ जना कैदीबन्दी तथा थुनुवाहरु प्रहरी नियन्त्रणमा आइसकेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बल्देव बडूले बताए । बैतडीमा कारागारमा ५४ जना कैदीबन्दी र ८ जना थुनुवा गरेर ६२ जना बस्दै आएका थिए । 

गएको २४ गते राति कारागारमा तोडफोड र आगजनी गरेर उनीहरु सबै भागेका थिए । भागेका मध्ये ७ जना थुनुवा र ५१ जना कैदीबन्दीलाई कारागारमा ल्याइसकेको प्रहरी निरीक्षक बडूले बताए । 

भागेका मध्ये तीन जना कैदीबन्दी र एक जना थुनुवा अझै फरार रहेका छन् । फरार रहेकाहरुको हुलियासहित सबै ठाउँमा विवरण पठाइएको र उनीहरुको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक बडूले बताए । सीमा नाकासमेत उनीहरुको फोटोसहितको हुलिया पठाइएको छ । 

प्रहरीले संयुक्त अप्रेशन सञ्चालन गरेर भागेका कैदीबन्दी र थुनुवाहरुलाई नियन्त्रणमा लिनका लागि खोजी कार्य तीव्र पारेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिपककुमार रायले बताए । 

फरार रहेका कैदीबन्दी तथा थुनुवाहरुलाई तुरुन्त सम्पर्क गर्न र कानुनको पालना गर्न आग्रह गरिएको कारागार कार्यालय बैतडीकी प्रमुख धारा भण्डारीले बताइन् । उनले भनिन्, ‘भागेका कैदीबन्दी तथा थुनुवामध्ये ५८ जना कारागारमा आइसकेका छन् । फरार रहेकाहरुलाई पनि तुरुन्त सम्पर्कमा आउन र अन्यथा थप कारवाही हुने कुरा हामीले जारी गरिसकेका छौं ।’

जिल्ला कारागारको बन्दीगृहमा अहिले ६० जना कैदीबन्दी तथा थुनुवा पुगेका छन् । 

एकजना दार्चुला कारगाराबाट भागेका कैदीबन्दीलाई पनि बैतडी कारागारमै राखिएको छ । उनको घर बैतडी नै भएकाले उनलाई पनि यतै राखिएको भण्डारीले बताइन् । 

एकजना नयाँ थुनुवा थपिएपछि अहिले कारागारमा ६० जना पुगेका छन् । सिगासकी बेलमती धामीको हत्यामा संलग्न यज्ञसिंह धामी अहिले पुर्पक्षका लागि कारागामा रहेका बताइएको छ । 

भदौ २४ गते रातिको तोडफोड र आगजनीबाट कारागारको बन्दीगृहमा क्षति पुगेको बताइएको छ ।
 

प्रकाशित मिति: बुधबार, असोज १, २०८२  १७:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update