
बैतडी–बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंस्थित गतिशील महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा जयन्ती बोहरा चयन भएकी छन् ।
शनिबार सम्पन्न भएको सहकारी संस्थाको १६ औं बार्षिक साधारण सभाले बोहराको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति चयन गरेको सहकारी संस्थाकी व्यवस्थापक बेलु क्षेत्रीले बताइन् ।
उक्त समितिको उपाध्यक्षमा माधवी टेलर, सचिवमा गोमती लुहार, कोषाध्यक्षमा मानमती बोहरा थलाल र अन्य सदस्यहरु चयन भएका छन् ।
यस्तै रीता ठगुन्ना बोहराको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण उपसमिति र मीरा बोहराको संयोजकत्वमा तीन सदस्यीय ऋण उपसमिति गठन गरिएको व्यवस्थापक क्षेत्रीले बताइन् ।
२०६६ साल माघ २१ गते स्थानीय महिलाहरुकै अगुवाईमा स्थापना भएको सहकारी संस्थामा महिलामात्रै सदस्य रहेका छन् । सहकारी संस्थामा ४ सय ८२ जना शेयर सदस्य रहेकोमा ३ सय ६० जनाले नियमित बचत गरिरहेको व्यवस्थापक क्षेत्रीले बताइन् ।
२ सय ४७ बालबचत रहेको सहकारी संस्थाको शेयर पूँजी ५ लाख ३० हजार ३ सय रुपैयाँ रहेको छ । यस्तै १ करोड ४८ लाख ४७ हजार ४१३ रुपैयाँ बचत रकम रहेको सहकारीले १ करोड ६१ लाख १६ हजार ९ सय ५ रुपैयाँ ऋण लगानी गरेको छ । सहकारी संस्थासँग विभिन्न कोष अन्तर्गत १० लाख ३५ हजार ५ सय ५७ रुपैयाँ रहेको बताइएको छ ।
महिलाको नेतृत्वमा रहेको गतिशील महिला बचत तथा ऋण सहकारी संस्थाले ग्रामीण क्षेत्रका महिलाहरुको बित्तीय क्षेत्रमा पहुँच पुर्याउनका लागि काम गरिरहेको सहकारी संस्थाकी अध्यक्ष जयन्ती बोहराले बताइन् । सहकारी संस्थाले महिलाहरुलाई विभिन्न आयआर्जनका कार्यक्रममा सरीक गराउन समेत महत्वपूर्ण भूमिका खेलेको उनले बताइन् ।