Sagun Khabar
बैतडी कारागारबाट भागेका चारजना भारतमा पक्राउ, ३२ जना कारागारमा पुगे 

बैतडी –जेनजी पुस्ताको प्रर्दशनका क्रममा बैतडी कारागारबाट भागेका ६२ जनामध्ये ३२ जना कैदीबन्दी र थुनुवा कारागारमा पुगेका छन् । 

गएको मंगलबार राति कारागारमा तोडफोड र आगजनी गरेर भागेका कैदीबन्दी र थुनुवा सम्पर्कमा आउने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरीक्षक दिपककुमार रायले जानकारी दिए । 
जिल्ला कारागार बैतडीमा विभिन्न मुद्दाका ५४ जना कैदीबन्दी र ८ जना थुनुवा रहेका थिए । गएको मंगलबार सबै कैदीबन्दी र थुनुवा भागेकोमा शनिबार साँझसम्म ३२ जना कारागारमा पुगिसकेका प्रहरी नायव उपरीक्षक रायले बताए । 

यस्तै कारागारबाट भागेर भारत पुगेका चारजनालाई पिथौरागढबाट पक्राउ गरिएको छ । भारतीय सशस्त्र प्रहरी बलको सहयोगमा उनीहरुलाई पक्राउ गरिएको हो । भारतीय सशस्त्र प्रहरी बलले चारैजनालाई आज साँझ झुलाघाट नाकाबाट नेपाल प्रहरीलाई हस्तान्तरण गर्ने तयारी रहेको छ । 

भारतबाट पक्राउ परेका उनीहरुलाई पनि कारागारमै ल्याइने प्रहरी नायव उपरीक्षक रायले बताए । कारागारबाट भागेका कैदीबन्दी र थुनुवाहरुलाई सम्पर्कमा आउन प्रहरीले सार्वजनिक सूचना समेत जारी गरेको छ । 

अहिले पनि विभिन्न चौकीमार्फत भागेका कैदीबन्दी र थुनुवाहरु सम्पर्कमा आउने क्रम जारी रहेको बताइएको छ । 

कैदीबन्दी र थुनुवाहरुको तोडफोड र आगजनीले कारागारभित्र बसाईको केही समस्या भएपनि त्यसलाई व्यवस्थापन गर्ने काम भइरहेको जिल्ला कारागार कार्यालय बैतडीका प्रमुख धारा भण्डारीले बताइन् । 
 

प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२  १७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update