
बैतडी–बैतडीको सुर्नया गाउँपालिका–६ स्थित शंकर संस्कृत मावि मूलखटालीको ७३ औं बार्षिकोत्सव तथा १८ औं अभिभावक दिवस विविध कार्यक्रमका साथ सोमबार सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदनराज अवस्थीको अध्यक्षतामा भएको बार्षिकोत्सव समारोहमा सुर्नया गाउँपालिकाकी उपाध्यक्ष मञ्जु बोहरा प्रमुख अतिथी रहेकी थिइन् । समारोहमा वडा नं ३,४ र ५ का वडा अध्यक्ष लगायतका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
बार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक रामबहादुर बिष्टले १ करोड ५३ लाख ९८ हजार ४ सय ३९ रुपैयाँ बराबरको आयव्यय विवरण प्रस्तुत गरेका छन् । विद्यालयको अन्य अवस्थाका बिषयमा जानकारी गराउँदै प्रधानाध्यापक बिष्टले विद्यालयमा घेरबार नहुँदा समस्या रहेको सुनाए । यसका साथै विद्यार्थी संख्याको आधारमा शौचालयको अभाव रहेको विद्यालयले जनाएको छ ।
२००९ सालमा स्थापना भएको शंकर संस्कृत मावि मूलखटाली यो क्षेत्रको पुरानो शैक्षिक संस्थाको रुपमा रहेको छ । माध्यमिक तहसम्म संस्कृत बिषयको समेत पठनपाठन हुने यो विद्यालयमा साधारणतर्फको पढाइ पनि हुने गरेको छ । कक्षा १२ सम्मको पढाइ हुने मावि मूलखटालीमा २ सय ७१ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।
बार्षिकोत्सव समारोहमा विद्यालयका उत्कृष्ट छात्रछात्राहरुलाई पुरस्कार वितरण गरिएको छ । यस्तै राष्ट्रपति रनिङ शिल्डमा सहभागी भइ पदक जित्ने खेलाडी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ ।
बार्षिकोत्सवको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएका थिए ।
विद्यालयको बार्षिकोत्सव समारोहमा बोल्दै सुर्नया गाउँपालिकाकी उपाध्यक्ष मञ्जु बोहराले विद्यालयको विकासका लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने बताइन् । सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारमा समाजका सबै पक्षको सहयोग आवश्यक रहेको उनले सुनाइन् ।