Sagun Khabar
बैतडीमा पनि मनाइयो निजामती सेवा दिवस 

बैतडी –२२ औँ निजामती सेवा दिवस बैतडीमा विविध कार्यक्रमसहित भव्य रूपमा मनाइएको छ । दिवसको पूर्वसन्ध्यामा सदरमुकाम गेठालापानी क्षेत्रमा सरसफाइ, खुला ब्याडमिन्टन प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरिएको थियो । 

दिवसको दिन आज स्थानीय सांस्कृतिक झाँकीसहित चिण्डो फोड, कुर्सी दौड लगायतका खेलकुद र मनोरञ्जनात्मक प्रतियोगिताको आयोजना गरिएको बताइएको छ । 

जिल्ला सदरमुकामबाट ¥यालीसहित गढीस्थित जिल्ला प्रशासन कार्यालयमा आयोजित औपचारिक कार्यक्रममा निजामती कर्मचारी, अन्य सेवा प्रदायक निकायका प्रतिनिधि, नागरिक समाजका व्यक्तित्व तथा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा खुला ब्याडमिन्टन प्रतियोगिताका विजेता टोली, उत्कृष्ट कार्यालय तथा दिवसका अवसरमा योगदान गर्ने सहयोगीहरुलाई विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले निजामती कर्मचारीले जनतालाई महसुस हुने गरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए । उनले असल काम र सकारात्मक व्यवहार मार्फतमात्रै जनताको विश्वास बढ्ने भएकाले निजामती कर्मचारीहरु सबै जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरे ।

यसै अवसरमा जिल्लाका सरकारी कार्यालयमध्ये नापी कार्यालय बैतडीलाई उत्कृष्ट कार्यालयको घोषणा गरिएको छ । निजामती सेवासम्बन्धी ऐन पहिलोपटक वि.सं. २०१२ भदौ २२ गते जारी भएको स्मरण गर्दै वि.सं. २०६१ सालदेखि हरेक वर्ष यस दिनलाई निजामती सेवा दिवसका रूपमा मनाउने प्रचलन रहेको छ ।
 

प्रकाशित मिति: आइतबार, भदौ २२, २०८२  १४:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update