
बैतडी –
धुरा भैसा धनबीरेका पातल हरीका ।
इसाइ दिन रन्या हुनकी जनम भरीका ।।
प्रस्तुत देउडा गीतमा समान्य अवस्थामा चलिरहेको जीवनले कहिले सुखको सास फेर्न पाउला भन्ने सन्देश दिएको छ । यी र यस्तै वेदना र समस्या साट्ने माध्यम देउडा बन्दै गएको छ ।
सुदूर र कर्णालीमा घन्किने देउडा मानिसको जीवनशैलीको अंग बन्दै गएको छ । देउडाका माध्यमबाट मानिसहरुले आफ्ना सुखदुःख साट्न पाएका छन् । विभिन्न जात्रा तथा मेलाको समयमा घन्किने देउडाले मनोरञ्जनमात्रै नभएर आम मानिसको जीवनशैली समेत बोल्ने गरेको देहीमाण्डौंका स्थानीय सुरेन्द्र बोहराले बताए ।
अनन्त चतुर्दशीको अवसरमा प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा लागेको मेलामा देउडामार्फत धेरैले सुखदुख साटासाट गरेका छन् । देउडाले मानिसको जीवनशैली र वर्तमान अवस्थाको समेत चित्रण गर्ने गरेको स्थानीय कृष्णबहादुर क्षेत्रीले बताए । उनले भने, ‘देउडाका माध्यमबाट समाजको यथार्थ चित्र थाहा हुन्छ । यसले मानिस पीडा, वेदना र अवस्था बोल्ने गर्दछ ।’
अनन्त चतुर्दशीको अवसरमा देहीमाण्डौंमा लाग्ने मेलामा हरेक बर्ष देउडाको रौनक छाउने गरेको छ । महिला र पुरुषले अलग–अलग समूहमा देउडा गाउने गरेका छन् । सामूहिक रुपमा गाइने देउडाले सामाजिक सदभावको समेत विकास गर्ने स्थानीय तारा जोशीले बताइन् । देउडाका माध्यमबाट आफ्ना वेदना र दुःखहरु पोख्न पाउँदा मन हलुका हुने गरेको उनले सुनाइन् । देउडाका माध्यमबाट सबैसँग भेटघाट समेत हुने भएकाले जात्रा–मेलामा सञ्चालन हुने देउडाको ठूलो महत्व रहेको उनले सुनाइन् । उनले भनिन् ‘देउडा गीत मात्रै होइन् । यो त हाम्रो जीवन पद्दति हो ।’
सामूहिक रुपमा पाइलामा पाइला मिलाएर देउडा खेल्नुको मजा बेग्लै हुने गरेको निङ्गलाशैनी माविका शिक्षक कविराज भट्टले बताए । देउडाका माध्यमबाट समाजको यथार्थ चित्रण हुने गरेको उनले बताए ।
सुदूरपश्चिममा गौरा पर्वसँगै देउडाको रौनक समेत शुरु हुन्छ । सुदूर पहाडका जिल्लाहरुमा कार्तिक शुक्ल पक्षसम्म जात्रा हुने भएकाले यी जात्राहरुमा देउडा रौनक झन् बढ्दै जाने भट्टले बताए ।