
बैतडी –मौसममा आएको परिवर्तनसंगै बैतडीका गाउँ –गाउँमा भाइरल ज्वरो र रुघा खोकीका बिरामी बढेका छन् । मौसममा आएको परिवर्तनले अहिले जिल्लाभरीका सबै ठाउँमा भाइरल ज्वरोका बिरामी बढेका हुन् ।
अहिले गाउँ गाउँमा भाइरल ज्वरोका बिरामी बढेका शिखरपुर स्वास्थ्यचौकीका प्रमुख बिरबहादुर बोहराले बताए । पहिलाको तुलनामा हिजोआज ज्वरोका बिरामी बढेका उनले बताए ।
स्वास्थ्यचौकीमा उपचारका लागि आउने बिरामीमध्ये अधिकांश भाइरल ज्वरोका बिरामी रहेका रौलेश्वर स्वास्थ्यचौकीका प्रमुख नरेश मडैले जानकारी दिए ।
यस्तै जिल्लाको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि आउने बिरामीमध्ये अधिकांश ज्वरोका बिरामी रहेका केन्द्रका प्रमुख, जनस्वास्थ्य निरीक्षक प्रेमसागर भट्टले बताए । प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक ७० जना जति बिरामी आउने गरेको र ती मध्ये आधाजति भाइरल ज्वरोका बिरामी रहेका भट्टले बताए ।
जिल्ला अस्पताल बैतडीको तथ्यांक हेर्दा यो महिना भाइरल ज्वरोका बिरामी बढेको अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए । अस्पतालमा दैनिक ४० भन्दा बढी भाइरल ज्वरोका बिरामी आउने गरेका उनले बताए । यसका साथै डेङ्गी र स्क्रबटाइफसको संक्रमण भएका बिरामीहरु समेत आउने गरेको उनले बताए ।
भाइरल ज्वरोका बिरामीहरुमा ज्वरो बढ्ने,चिसो महसुस हुने, हल्का खोकी लाग्ने, घाँटी दुख्ने, हाँच्छिऊ आउने , नाकबाट पानी आउने, टाउको, शरीर तथा हाडजोर्नी दुख्ने लक्षण रहेका बताइएको छ ।
मौसममा आएको परिवर्तनका कारण भाइरल ज्वरोको संक्रमण बढेकोले पानी उमालेर वा शुद्धीकरण गरेर मात्रै मात्रै प्रयोग गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।