Sagun Khabar
बैतडीमा अनन्त चतुर्दशी मेलाको रौनक 

बैतडी–बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशी मेलाको रौनक छाएको छ ।

मेलामा हजारौं दर्शनार्थीहरुको सहभागिता रहेको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिले जनाएको छ । मन्दिरमा अनन्त चतुर्दशी अवसरमा लाग्ने मेला भाद्र शुक्ल द्वादशीबाट शुरु भएर भाद्र शुक्ल पूर्णिमका बिहान समापन हुने मन्दिरका पूजारी लोकराज भट्टले बताए । 

यो जात्रामा तीनरात जाग्राम बस्ने भक्तजनहरु बढी हुने गरेका छन् । भाद्र शुक्ल द्वादशीका दिन मन्दिरको भण्डार घरबाट भण्डारलाई मन्दिर पुर्याएर जात्रा शुरु हुने गर्दछ । 

आज अनन्त चतुर्दशीका दिन देहीमाण्डौंमा बैतडी सदरमुकाम क्षेत्र र स्वराड क्षेत्रबाट ठकुरीहरुले जात्रा ल्याएका छन् । परापूर्वकालमा निङ्गलाशैनी भगवतीले न्याय दिएको हुनाले जात्रा ल्याउने प्रचलन रही आएको पूजारी भट्टले बताए । 

यस्तै जात्राको अवसरमा विभिन्न ऐतिहासिक ठाडो खेल, ढुस्को, धमारी हुने गरेका छन् । तर पछिल्लो समयमा ऐतिहासिक खेलहरु भने लोप हुँदै गएका छन् । 

यस्तै अनन्त चतुर्दशी जात्राको अवसरमा देहीमाण्डौंमा देउडा समेत हुने गरेका छन् । विभिन्न क्षेत्रबाट आएका देउडीयाहरुको सहभागिता हुने देउडाले मेलामा रौनक छाएको स्थानीय सुरेन्द्र बोहराले बताए ।  
 

प्रकाशित मिति: शनिबार, भदौ २१, २०८२  १७:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update