
दार्चुला –नेपाल र भारतका सुरक्षा अधिकारीबीच खलङ्गामा सोमबार सीमा समन्वयात्मक बैठक सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीको आयोजनामा भारतीय सशस्त्र सीमा बल र सशस्त्र प्रहरी बल नेपालका डिआइजी स्तरीय सीमा समन्वयात्मक (काउन्टर पार्ट कोर्डिनेशन मिटिङ) सम्पन्न भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति देवराज जोशीले जानकारी दिए । बैठकमा दुवै पक्षले आआफ्नो जिम्मेवारी, क्षेत्रभित्रको विद्यमान सुरक्षा परिस्थिति र सम्भावित खतराबारे समीक्षा गरीएको उनले बताए ।
सीमा क्षेत्रमा हुने विभिन्न किसिमका अवैध गतिविधि, चोरी तस्करी, लागूऔषध ओसारपसार, मानव बेचविखन र अन्य आपराधिक गतिविधिहरु दुवै देशका सुरक्षाकर्मी मिलेर नियन्त्रण गर्ने सहमति भएको उनले बताए ।
बैठकमा सीमा क्षेत्रका सम्भावित आपराधिक गतिविधिहरुको बारेमा विभिन्न तहमा सूचना आदानप्रदानलाई प्रभावकारी बनाउने, क्षतिग्रस्त वा हराएका सीमा स्तम्भको अभिलेख अद्यावधिक गरी मर्मत सम्भार, संरक्षण र पुनःस्थापना कार्य अघि बढाउन सम्बन्धित कार्यालयमा प्रतिवेदन गर्ने, सीमा क्षेत्रका नागरिकको आवागमनलाई सहज र सौहार्द बनाउन प्रयत्न गर्ने सहमति भएको जनाइएको छ ।
बैठकमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालयका कैलालीका बाहिनीपति प्रदीपकुमार पाल, कैलाली, कञ्चनपुर, दार्चुलाका गणपति, बैतडी, डडेल्धुरा र दार्चुलाको छाङरुका गुल्मपति र भारत अल्मोडाका डिआइजी सुधाम्सु नौटियाल र पिलिभितका डिआइजी अनिलकुमार शर्मालगायतको सहभागिता रहेको थियो ।