
बैतडी –बैतडीको सुर्नया गाउँपालिका वडा नं ५ स्थित रौलेश्वर मावि रामकी बरायलमा सञ्चालन भएको देउडा प्रतियोगिता आज समापन भएको छ ।
सुर्नया गाउँपालिकाको आर्थिक सहयोग र लालीगुराँश उद्यमशील महिला सञ्जालको आयोजनामा तीजको अवसरमा देउडा प्रतियोगिता सञ्चालन गरिएको हो ।
उक्त प्रतियोगितामा सहभागी भएका देउडीयाहरु मध्ये सुर्नया ८ की कमला साउँद प्रथम भएकी छन् । उनले नगद ८ हजारसहित प्रमाणपत्र प्राप्त गरेकी छन् ।
यस्तै प्रतियोगितामा सुर्नया ५ की हजारी मडै दोश्रो भएकी छन् । उनीहरुले ६ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेकी महिला सञ्जालकी अध्यक्ष निर्मला महराले बताइन् ।
प्रतियोगितामा सुर्नया –५ कै कमला मडै तृतीय भएकी छन् । उनले नगद ४ हजारसहित प्रमाणपत्र प्राप्त गरेकी छन् ।
यस्तै सुर्नया –२ ग्वानीकी रतना बिष्ट र सुर्नया–५ की जमुना मडैले सान्त्वना स्थान प्राप्त गरेका छन् । उनीहरुलाई २ हजार पाँच सयका दरले नगद पुरस्कारसहित सम्मान पत्र प्रदान गरिएको छ ।
स्थानीय संस्कृतिको संरक्षण गर्ने र स्थानीय प्रतिभाहरुको उजागार गर्ने उद्देश्यसहित देउडा प्रतियोगिताको आयोजना गरिएको सुर्नया गाउँपालिकाले जनाएको छ ।
लालीगुराँश उद्यमशील महिला सञ्जालकी अध्यक्ष निर्मला महराको अध्यक्षतामा भएको देउडा प्रतियोगिता समापन समारोहमा गाउँपालिका उपाध्यक्ष बोहरा प्रमुख अतिथी रहेकी थिइन् । उक्त समारोहमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर धानुक, जनप्रतिनिधि र स्थानीयहरुको सहभागिता रहेको थियो ।
देउडा प्रतियोगितामा समापन समारोहमा बोल्दै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर धानुकले स्थानीय संस्कृतिको संरक्षणमा पालिका सदैव तयार रहेको बताए ।
यस्तै गाउँपालिका उपाध्यक्ष मञ्जु बोहराले विगतदेखि नै तीजको अवसरमा देउडा प्रतियोगिता गर्दै आएको र यो बर्ष पनि प्रतियोगिताको आयोजना गरिएको बताइन् । प्रतियोगितामा सहभागी सबैलाई धन्यवाद दिँदै उनले यस्ता खालका कार्यक्रमले स्थानीय कला र संस्कृतिको संरक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।