Sagun Khabar
बैतडीको सुर्नयामा देउडा प्रतियोगिता शुरु 

बैतडी –बैतडीको सुर्नया गाउँपालिका–५ स्थित रौलेश्वर मावि रामकी बरायलमा आजदेखि देउडा प्रतियोगिता शुरु भएको छ । 

लालीगुराँश उद्यमशील महिला सञ्जालको आयोजना तथा सुर्नया गाउँपालिकाको सहयोगमा हरितालिका तीजको अवसरमा देउडा प्रतियोगिता शुरु भएको हो । 

दुईदिन सम्म सञ्चालन हुने प्रतियोगितामा महिला देउडीयाहरुको सहभागिता रहेको छ । स्थानीय कला र संस्कृतिको संरक्षण तथा स्थानीयस्तरमा रहेका प्रतिभाहरुको उजागर गर्न प्रतियोगिताको आयोजना गरिएको सुर्नया गाउँपालिकाकी उपाध्यक्ष मञ्जु बोहराले बताइन् । 

प्रतियोगितामा सहभागी भएका उत्कृष्ट देउडीयाहरुलाई नगद पुरस्कारसहित सम्मान गर्ने कार्यक्रम रहेको छ । 

प्रतियोगितामा प्रथम हुनेलाई नगद १० हजारसहित सम्मान पत्र, दोश्रो हुनेलाई नगद ८ हजारसहित सम्मान पत्र र तेश्रो हुनेलाई नगद ५ हजारसहित सम्मान पत्र प्रदान गरिने उपाध्यक्ष बोहराले बताइन् । 

सुर्नया गाउँकार्यपालिका सदस्य पार्वती मडैको अध्यक्षतामा भएको देउडा प्रतियोगिता उद्दघाटन सत्रमा गाउँपालिका उपाध्यक्ष बोहरा प्रमुख अतिथी रहेकी थिइन् । उद्दघाटन सत्रमा गाउँपालिका प्रवक्ता एवं वडा नं ४ का वडा अध्यक्ष प्रतापसिंह महरा, वडा नं ३ का वडा अध्यक्ष शम्भुप्रसाद भट्ट लगायतका जनप्रतिनिधि लगायत स्थानीयहरुको सहभागिता थियो । 

यस्तै सुर्नया गाउँपालिका–६ स्थित सिगास मावि मुसेमा पनि तीजको अवसरमा देउडा कार्यक्रम सञ्चालन भएको छ । 

सिगास उद्यमी महिला समूहको आयोजना, सुर्नया गाउँपालिका र वडा नं ६ को सहयोगमा हरितालिका तीजको अवसरमा कार्यक्रम सञ्चालन गरिएको हो । दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा स्थानीय महिलाहरुको सहभागिता छ । 

सिगास उद्यमी महिला समूहका अध्यक्ष खगेश्वरी भट्टको अध्यक्षतामा उद्दघाटन भएको देउडा कार्यक्रममा सुर्नया गाउँकार्यपालिका सदस्य निर्मला अवस्थी प्रमुख अतिथी रहेकी थिइन् । 

स्थानीय कला र संस्कृतिको जगेर्ना गर्न देउडा कार्यक्रमको आयोजना गरिएको कार्यपालिका सदस्य अवस्थीले बताइन् । 

भदौ १० गते सुर्नया गाउँपालिका–६ स्थित कैलपाल भेलेलिङ्ग आधारभूत विद्यालयको प्राङ्गणमा देउडा कार्यक्रम सञ्चालन गरिने कार्यपालिका सदस्य अवस्थीले बताइन् । 
 

प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२  १८:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update