Sagun Khabar
केशव चन्द र गौरी भट्टको स्वरमा ‘रक्षा गर्या रौलाकेदार’ देउडा भजन 

बैतडी –सुदूरपश्चिमको मौलिक संस्कृति र परदेशीको यथार्थ कथा समेटिएको मार्मिक डेउडा भजन ‘रक्षा गर्या रौलाकेदार’ सार्वजनिक भएको छ । निरन्तर मिडियाको प्रस्तुतीमा यो गीत बजारमा आएको हो । 

केशव चन्द, भानुभक्त जोशी र गौरव जोशीको शब्द सिर्जना र लय रहेको यो गीतमा गायक केशव चन्द र चर्चित गायिक गौरी भट्टले स्वर दिएका छन् । 

गीतमा वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको असर र त्यसबाट उत्पन्न हुने पारिवारिक बिरहलाई मुख्य विषय बनाइएको छ । भर्खरै बिहे गरेर श्रीमतीलाई गाउँमै छोडी सपना पूरा गर्न परदेश हिँडेको एक युवाको कथालाई गीतमा समिटएको छ । परदेशमा गएर पनि सपना पूरा नहुँदाको पीडा र आफ्नो परिवारको रक्षाका लागि ‘रौलाकेदार’ लाई पुकार गरिएको छ । 

देउडा भाकालाई भजन शैलीमा प्रस्तुत गरिएको यो गीतमा रौलाकेदारप्रतिको आस्था झल्काइएको छ । भगवान शिवको द्वादश ज्योतिर्लिङ्गमध्येको केदारनाथ ज्योतिर्लिङ्ग मानिएको रौलाकेदार यो क्षेत्रको शक्तिशाली देवताको रुपमा पूजाआजा गर्ने गरिएको छ । 

गीतको भिडियोले कथालाई अझै सशक्त रूपमा प्रस्तुत गरेको छ । निर्देशक दिनेश कठायत (काजीसाब) ले निर्देशन गरेको भिडियोमा रौलाकेदार क्षेत्रका मनमोहक दृश्यहरू कैद गरिएका छन् । यसले गीतको भावलाई उचाई दिएको छ । भिडियोमा दिनेश कठायत (काजीसाब) र एन्जल कुँवरको मार्मिक अभिनय देख्न सकिन्छ । उनीहरुले श्रीमान र श्रीमतीको बिछोडको पीडालाई आफ्नो अभिनयमार्फत प्रस्तुत गरेका छन् । 

सुदूरपश्चिमको स्थानीय परिवेश, मौलिक पहिरन र डेउडा नाचले भिडियोलाई सांस्कृतिक रूपमा धनी बनाएको छ । सुशील डाँगीको छायांकन, कृष्ण पुनको एरेन्ज÷मिक्सर÷मास्टर र म्युजिक बैंक नेपालको स्टुडियोमा तयार भएको यो गीत एउटा उत्कृष्ट प्रस्तुति बनेको छ ।

समग्रमा, ‘रक्षा गर्या रौलाकेदार’ एउटा गीत मात्र नभएर परदेशिन बाध्य लाखौं नेपालीको कथा, उनीहरुको परिवारको प्रतीक्षा र आफ्नो संस्कृतिप्रतिको गहिरो आस्थाको संगम हो । 

स्थानीय संस्कृतिको संरक्षण, ओझेलमा परेका सम्पदाहरुको प्रचारप्रसार र रौलाकेदारप्रतिको अगाध श्रद्धा दर्शाउन गीत बजारमा ल्याइएको गायक चन्दले बताए । बैतडी घर भएका चन्दले सांगतिक क्षेत्रबाट आफ्नो ठाउँको प्रचारप्रसार गर्ने पवित्र उद्देश्य रहेको बताए । 

https://www.youtube.com/watch?v=FrmaOsrsMrc
 

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  १८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update