Sagun Khabar
आइतबार बिहानदेखि मनसुन थप सक्रिय हुने सम्भावना, धेरै ठाउँमा ठूलो पानी पर्ने

काठमाण्डौं – आइतबार (भोलि) बिहान सबेरै पूर्वी नेपालबाट थप सक्रिय हुने मनसुनी प्रणालीले देशभर वर्षा गराउने मौसमविद्ले बताएका छन् । न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतर्फ सर्ने र वर्षा गराउने प्रणाली पनि नेपालतर्फ प्रवेश गरिरहेकोले वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बताइन् । 

उनका अनुसार भोलि पूर्वी नेपाल हुँदै लुम्बिनी प्रदेशसम्म र पर्सी पश्चिम नेपालमा धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना समेत रहेको छ । बदली भने देशभर हुनेछ । तर यस पटक पनि मधेश प्रदेशमा भने ठूलो पानीको सम्भावना कम देखिएको मानन्धरले बताइन् । 

हिजोसम्मको अवस्थामा मधेशमा समेत वर्षाको सम्भावना रहे पनि प्रणालीमा आएको फेरबदलले मधेशमा ठूलो वर्षाको सम्भावना कम हुँदै गएको र भइहालेमा पनि सिमित ठाउँमा मात्रै हुने उनको भनाइ छ ।

भोलि आइतवार र पर्सि सोमवार वर्षा भए पनि सोमवार राति वा मङ्गलवार बिहानदेखि नै वर्षा कम भएर मौसम खुल्ने सम्भावना देखिएको मौसमविद् मानन्धरले बताइन् । 

मौसमविद् उज्जवल उपाध्यायका अनुसार बागमती, कोशी र गण्डकी जलाधारमा ठूलो वर्षाको सम्भावना छ । उनले भोलि र पर्सि खासगरी पृथ्वीराजमार्ग, बीपी राजमार्ग र बुटवल–नारायणगढखण्डमा सकेसम्म यात्रा नगर्न सुझाव दिएका छन् । 
 

प्रकाशित मिति: शनिबार, साउन ३, २०८२  १७:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update