Sagun Khabar
हरेली संक्रान्ति मनाइँदै, हराउँदै ‘हरेलो’हाल्ने चलन 

बैतडी –साउने संक्रान्तिलाई बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा हरेली संक्रान्तिका रुपमा मनाउने गरिएको छ ।  

साउने संक्रान्तिलाई हरेली संक्रान्तिका रुपमा मनाउने प्रचलन रही आएको स्थानीय संस्कृतिका जानकार शिवराज भट्टले बताए । खेतबारीमा फलेको मेलको हाँगा गाडेर हरेलो हाल्ने चलन रही आएको उनले बताए । 

हरेलो हालेपछि खेतबारीमा अन्न उत्पादनमा वृद्धि हुने जनविश्वास रही आएको छ । खास गरेर धान खेतमा हरेलो हाल्ने चलन रही आएको भएपनि कतिपय ठाउँमा मकैबारीमा समेत हरेलो हाल्ने चलन रहेको भट्टले बताए । 

बर्खे बालीलाई नोक्सान नहोस भनेर हरेलो हाल्ने चलन रही आएको स्थानीय संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए । यो पर्व कृषि र मानव जीवनसंग जोडिएको उनले बताए । उनले भने,‘हरेली संक्रान्ति मानसखण्डको मौलिक पर्व हो । यसले कृषि र मानवसंगको सम्बन्धलाई जोड्ने काम गरेको छ ।’

अन्नबालीलाई विभिन्न रोगकिरा तथा जंगली जनावरबाट जोगाउन सकिन्छ भन्ने मान्यतासहित हरेलो हाल्ने संस्कृति रहेको भट्टले बताए । उनले भने ‘यो हाम्रो जीवनपद्दतिसंग जोडिएको पर्व हो । त्यसैले परापूर्वकालदेखि साउने संक्रान्तिलाई हरेली संक्रान्तिका रुपमा मनाउने गरिन्छ ।’

तर पछिल्लो समयमा खेतबारीमा ‘हरेलो’हाल्ने चलन भने हराउँदै गएको छ । साउने संक्रान्तिमा नुवाइधुवाइ गरेर खेतबारीमा फलेको मेलको हाँगा गाडेर हरेलो हाल्ने चलन रही आएको भएपनि पछिल्लो समयमा यो चलन लोप हुन थालेको भट्टले बताए । मौलिक चलन र संस्कृतिको जगेर्ना गर्नुपर्ने भएपनि यो तर्फ नयाँ पुस्ताको ध्यान जान नसकेको उनले बताए । 

मानव जीवन र प्रकृतिसंगको सम्बन्ध राख्ने हरेलो हाल्ने चलन राम्रो भएकाले यसको जगेर्ना गर्नुपर्ने स्थानीय देवदत्त भट्टले बताए । 

यस्तै घरघरमा साँझको समयमा स्थानीय भाषामा झिझरीकाँडी भनिने कुरिलो राख्ने चलन रही आएको छ । घरको मूलढोकामा झिझरीकाँडी अर्थात कुरिलो राख्ने चलन रही आएको हो । 

मूल ढोकामा कुरिलो राखेमा विभिन्न रोगब्याधी र कष्टबाट मुक्ति पाइने मान्यता रही आएको छ । यस्तै मूल ढोकामा झिझिरकाँडी राखेमा भूतप्रेत र राक्षसहरुको डर नहुने मान्यता रही आएको छ । 
 

प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  १०:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update