
बैतडी –सुदूरपश्चिम प्रदेशको भाषा, साहित्य र शिक्षण क्षेत्रमा क्रियाशील साहित्यकार नरेन्द्र भट्टलाई भाषा–साहित्य विधातर्फको प्रादेशिक प्रतिभा पुरस्कार प्रदान गरिने भएको छ ।
बैतडीको पाटन नगरपालिका–४, भट्टगाउँ घर भएका भट्टलाई संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भाषा एवं साहित्यतर्फको प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । ५० हजार रुपैयाँ राशीको उक्त पुरस्कार यही असार २९ गते भानुजयन्तीका अवसरमा प्रदान गरिने बताइएको छ ।
नेपाली लेखक संघ सुदूरपश्चिमका अध्यक्ष समेत रहेका भट्ट ऐश्वर्य विद्या निकेतन धनगढीमा नेपाली बिषयको शिक्षकका रुपमा कार्यरत रहेका छन् । २०५६ सालमा चर्चित ‘शहीद पुत्र’खण्डकाव्य प्रकाशन गरेका भट्टका थुप्रै कविता, गजल तथा समसामयिक लेखहरू राष्ट्रिय तथा स्थानीय पत्रपत्रिकाहरूमा प्रकाशित भइसकेका छन् । पछिल्ला वर्षहरूमा उनी समालोचना तथा अनुसन्धानमूलक लेखनमा समेत सक्रिय रहेका छन् ।
नेपाली विषयमा एम.ए. तथा बी.एड सम्मको अध्ययन गरेका भट्ट पीएचडी स्कलरको रूपमा समेत आबद्ध छन् । शिक्षण पेशासँगै साहित्य सेवा गरेका भट्टका कृतिहरूले साहित्यिक क्षेत्रमा पृथक पहिचान बनाएको छ ।
सुदूरपश्चिम साहित्य समाजको पूर्व सचिव रहेका भट्टले कैलाली बहुमुखी क्याम्पसको विद्यार्थी साहित्य प्रतिष्ठानका संस्थापक सहसचिव भएर काम गरिसकेका छन् ।
पुरस्कारका लागि छनौट भएका भट्टले साहित्य सिर्जनाको क्षेत्रमा थप सक्रिय भएर लाग्ने प्रेरणा मिलेको बताए । भाषा र साहित्यको क्षेत्रमा आफू निरन्तर रुपमा लागिरहने उनले बताए ।