Sagun Khabar
बैतडीमा इण्डो–नेपाल अन्तर्राष्ट्रिय मेला आजदेखि 

बैतडी–बैतडीमा इण्डो –नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आजदेखि शुरु हुँदैछ । 

दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंमा सञ्चालन हुने मेलाको उद्योग वाणिज्य तथा आप्ूर्ती मन्त्री दामोदर भण्डारीले उद्दघाटन गर्ने कार्यक्रम रहेको दशरथचन्द नगरपालिकाका सूचना अधिकारी एवं मेला व्यवस्थापन समितिका सदस्य सचिव राजेन्द्र बिष्टले जानकारी दिए । 

दशरथचन्द नगरपालिकाको आयोजना, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय अन्तर्गतको वैदेशिक व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोग र ग्वाल्लेक मिडिया ग्रुप प्रालिको व्यवस्थापनमा सञ्चालन हुने मेला जेठ २६ गतेसम्म चल्नेछ । 

मेलामा नेपाल तथा भारतका कलाकारहरुले सांस्कृतिक प्रस्तुती गर्नुका साथै संस्कृति आदान–प्रदान हुने मेलाका व्यवस्थापक हेमबाबु लेखकले बताए ।

स्वदेशी उद्योग व्यवसायको प्रवद्र्धन र नेपाली उत्पादन तथा सेवाहरूको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार  विस्तार गर्ने उद्देश्यका साथ मेलाको आयोजना गरिएको दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)ले बताए । 

मेलाले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध विस्तारमा समेत सहयोग पुग्ने उनले बताए । 

मेला अवलोकनका लागि दर्शकहरुले मेलास्थलमा निशुल्क प्रवेश पाउने व्यवस्था गरिएको छ । स्थानीय कला, संस्कृति, भेषभुषा र स्थानीय उत्पादनको प्रवद्र्धनमा मेलाले महत्वपूर्ण सहयोग पुर्याउने अपेक्षा गरिएको छ । 

यस्तै मेलामा कृषि प्रदर्शनी स्टल समेत राखिने भएको छ । नगरपालिकाभित्रका किसानहरुले उत्पादन गरेका बालीहरु प्रदर्शनीका लागि राख्न सकिने दशरथचन्द नगरपालिकाका कृषि विकास शाखा प्रमुख दिपक कार्कीले बताए । कृषि प्रदर्शनीमा सहभागी भएर उत्कृष्ट हुने किसानहरुलाई पुरस्कार समेत व्यवस्था गरिएको उनले बताए । 
 

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  ०७:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update