
डोटी –गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् । भूकम्पीय पुनर्निर्माण तथा पुनस्र्थापना आयोजना कार्यान्वयन एकाइ कार्यालयको उद्घाटन गर्न अछाम जाने क्रममा नेपाल प्रेस युनियन डोटीले आज (शनिवार) आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । उनले भने,‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन, लोकतन्त्रको विकल्प कुनै निरङ्कुशता हुन सक्दैन ।’
लोकतन्त्र जस्तो असल व्यवस्था अन्य कुनै हुन नसक्ने गृहमन्त्री लेखकले बताए । लोकतन्त्रका विरुद्धमा अहिले भइरहेका गतिविधि गर्न लोकतन्त्रले नै छुट दिएको उनले बताए । समाज विकासको विज्ञानले समाज पछि फर्कँदैन भनेकाले पनि राजतन्त्रको कुनै सम्भावना नरहेको उनको दाबी छ । उनले पूर्व राजालाई शासन गर्न मन भएर चुनावमा होमिएर खुला राजनीति गर्न चुनौती समेत दिए ।
अर्को प्रसङ्गमा गृहमन्त्री लेखकले संविधान संशोधनको विषयमा गृहकार्य भइरहेको बताए । सरकार गठन पूर्व नेपाली कांग्रेस र नेकपा एमाले बिच भएको समझदारी अनुसार संविधान संशोधनका लागि कार्यदल बनाउने सहमति भई गृहकार्य अघि बढेको र सबैको सहमतिमा संविधान संशोधन हुने गृहमन्त्री लेखकले बताए ।