
हिउँदयाम अन्तिम चरणमा प्रवेश गरिरहेका बेला पश्चिमी वायु नेपालमा सक्रिय भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बेलुकीदेखि पर्सिसम्म देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना छ।
भारतको जम्मु–काश्मीर र हिमाञ्चल हुँदै नेपाल प्रवेश गरेको मौसमी प्रणाली हाल सुदूरपश्चिम र उच्च हिमाली क्षेत्रमा प्रभाव पार्दैछ। मौसमविद्हरूका अनुसार यो प्रणाली भोलि दिउँसोसम्म काठमाडौं उपत्यकासमेत आइपुग्नेछ, तर पश्चिमी क्षेत्रको तुलनामा यसको प्रभाव कमजोर रहने अनुमान गरिएको छ।
मौसमविद् रोजन लामिछानेका अनुसार आज सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा हुन सक्छ। भोलि काठमाडौं उपत्यका र आसपासका जिल्लाहरूमा छिटफुट पानी पर्ने सम्भावना छ। देशका अधिकांश भागमा पश्चिमी प्रणालीको प्रभाव देखिए पनि पूर्वी नेपालमा तुलनात्मक रूपमा कम असर पर्ने अनुमान गरिएको छ।
मधेश र लुम्बिनीबाहेकका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भोलि र पर्सिसम्म हल्का हिमपातको सम्भावना रहेको मौसमविद्हरू बताउँछन्। पर्सि शनिबारदेखि मौसम क्रमशः सुधार हुँदै जाने अनुमान गरिएको छ।
नेपालमा मङ्सिरको मध्यदेखि फागुन १६ गतेसम्म हिउँदयाम मानिन्छ। यस अवधिमा औसत रूपमा करिब ६० प्रतिशत पानी पर्ने गर्दछ। तर, यो वर्ष हालसम्म जम्मा १०।६ प्रतिशत मात्र पानी परेको तथ्यांकले देखाएको छ।
पश्चिमी वायुको प्रभावले आगामी केही दिन देशभर मौसम परिवर्तनशील रहनेछ। उच्च हिमाली क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ भने कृषकहरूलाई समेत यस मौसमी परिवर्तनको प्रभावबारे सचेत रहन सुझाव दिइएको छ।