
कञ्चनपुर — कञ्चनपुरमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षामा नक्कली परीक्षार्थी सहभागी भएको घटनामा तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शनिबार लिखित परीक्षा र आइतबार ट्रायल परीक्षामा नक्कली परीक्षार्थी पक्राउ गरिएको हो।
शनिबार यातायात व्यवस्था कार्यालय कञ्चनपुरले सञ्चालन गरेको लिखित परीक्षामा बेदकोट नगरपालिका–६ का सुवास डगौराको नाममा परीक्षा दिने बेदकोट–५ का अस्मित डगौरा पक्राउ परेका छन्। साथै, उनलाई परीक्षा दिन लगाउने सुवास डगौरालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यस्तै, आइतबार भएको ट्रायल परीक्षामा नक्कली परीक्षार्थीको रूपमा सहभागी भएका भीमदत्त नगरपालिका–६ निवासी १९ वर्षीय अमरसिँह धामी पनि पक्राउ परेका छन्। उनले दार्चुलाको लटिनाथ गाविसका सन्तोष बहादुर सिंहको नाममा परीक्षा दिन खोजेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीका अनुसार पक्राउ परेका तीनै जनाविरुद्ध आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ।