Sagun Khabar
बैतडी र बझाङका केही स्थानमा द्याँची गौरा मनाइयो 

बैतडी –देशैभर बडादशैँको दशैंको रौनक भएको बेला बैतडी र बझाङका केही स्थानमा द्याँची गौरा मनाइएको छ । बैतडीको सुर्नया गाउँपालिकाको वडा नं ८ ढोले, सिगास गाउँपालिकाको चौखाम र बझाङको बित्थडचीर गाउँपालिका तथा बुंगल नगरपालिकाका विभिन्न स्थानमा द्याँची गौरा मनाउने प्रचलन रही आएको स्थानीय संस्कृतिका जानकार एवं केदार मावि बित्थडका प्रधानाध्यापक मुरलीधर अवस्थीले बताए । 

सुदूरपश्चिमका अन्य ठाउँमा भदौको महिना गौरा मनाउने चलन रहेको भएपनि केही ठाउँमा गौराको रुपमा आश्विन शुक्ल पक्षमा द्याँची गौरा मनाउने गरिएको अवस्थीले बताए । 

Atrya hospital

भदौमा मनाइने गौरालाई लोली गौरा भन्ने गरिएकोमा आश्विन शुक्ल पक्षमा मनाइने गौरालाई ललिता गौरा भन्ने चलन रही आएको छ । भदौको महिना मनाइने गौरामा बिरुडाले गौराको पूजन गर्ने चलन रही आएको भएपनि द्याँची मेलामा भने गौरामा जमरा चढाउने प्रचलन रही आएको उनले बताए । घटस्थापनका दिन गौराघरमा जमरा छर्ने र गौराको प्रसादको रुपमा जमरा चढाउने प्रचलन रही आएको छ । 

विवाहित महिलाहरुले आश्विन शुक्ल पञ्चमीमा ब्रत बसेर द्याँची मेलामा गौराको पुजन गर्ने चलन रही आएको सुर्नया ८ ढोलेका स्थानीय बिरबहादुर बोहराले बताए । विवाहित महिलाहरुले गौराको पूजन गरेपछि दुवधागो धारण गर्ने चलन रही आएको बोहराले बताए । उनले भने ‘द्याँचीमा पनि ब्रतालु महिलाहरुले सगुन फाग गाएर देवीको आराधना गर्ने चलन रही आएको छ ।’

द्याँची मेलाका लागि घर बाहिर रहेकाहरु पनि गाउँघर फर्किने भएकाले रमाइलो हुने गरेको बोहराले बताए । यसले सामाजिक सद्भावको विकास समेत गर्ने उनले बताए ।

शिवका उपासकहरुले भदौमा गौरा मनाउने र भगवतीका उपासकहरुले आश्विन शुक्ल पक्षमा गौरा मनाउने चलन रही आएको संस्कृतिका जानकार अवस्थीले बताए । द्याँची गौराको अवसरमा बझाङको स्याडीमा रहेको भगवती मन्दिरमा ठूलो जात्रा लाग्ने गर्दछ । यो बर्षको द्याँची गौरा हिजो सम्पन्न भएको अवस्थीले बताए । 
 

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  ०९:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update