छाँटकाँट चालाढाला यिनका भेषको विकास हेर
सुदामाको कनिका भो मेरो देशको विकास हेर ।।
झुटा कबुल हदै गरि खाई अघाए आफू आज
मात – मत्ता हेर कठै ! सनेसको विकास हेर ।।
आँधी–व्याधि सहि बस्छौं,प्रतिकारको हुती छैन
सुदूरपश्चिम, कर्णाली र मधेसको विकास हेर ।।
अखडा अडा गरी वितण्डा पो मच्चाइरा’छन्
चुरीफुरी उग्र यिनमा आवेशको विकास हेर ।।
आऊ, सबै मिलिजुली स्वदेशमै बसौं भन्छन्
कहाँ छ र,सब बस्न मिल्ने स्पेसको विकास हेर ।।
निस्तब्धता छाएको छ, सुषुप्तिमा पर्दा नायक
साना देखि ठूला जनमा, क्लेशको विकास हेर ।।
देख्ने आँखा छ र कसको निमुखाको हाल यहाँ
दिन परदिन हुदै गा’छ हरेसको विकास हेर ।।
प्रकाशित मिति: शनिबार, असोज १९, २०८१ १६:३२
प्रतिक्रिया दिनुहोस्