Sagun Khabar
अठ्यावालीपछि खेल र चैतोलको रौनक 

बैतडी–गौरा पर्वको मुख्य दिन अठ्यावाली सकिएपछि सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा खेल र चैतोलको रौनक शुरु भएको छ । विभिन्न देवीदेवताका गाथामा आधारित खेल र चैतोलहरु ठाउँठाउँमा हुने गरेका छन् । 

ठाउँ परिवेश अनुसार खेलहरुलाई पनि विभिन्न नामाकरण गरिएको छ । बैतडीमा खेल र चैतोल हुने गरेको छ भने दार्चुलामा अठ्यावालीपछि खेणी, धोणी र लमधोणी हुने गरेको स्थानीय शिक्षक समेत रहेका गंगासागर जोशीले बताए । 

Atrya hospital

यस्ता खेलहरुमा देवीदेवताका गाथामा आधारित विभिन्न कथाहरुमा मिलाएर भन्ने गरिएको छ । विभिन्न देवीदेवताका खलाहरुमा बाजागाजासहित स्थानीय पुगेर कम्तीमा अबको चार दिन खेल खेल्ने गरेका छन् । 

जिल्लाको दशरथचन्द नगरपालिकाका विभिन्न स्थानमा चैतोल हुने गरेको छ । यस्तै वडा नं १ स्थित सैँपाल खला, मणिलेक खला र महारुद्र खलामा खेल हुने गरेको स्थानीय गंगादत्त भट्टले बताए । देवीदेवताका गाथामा आधारित खेलहरुमा स्थानीयहरुको उल्लेख्य सहभागिता रहने गरेको छ । 

गौरा पर्वमा गौरा र महेश्वरको विवाहपछि उत्सवको रुपमा चैतोल मनाउने गरिएको स्थानीय संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए । विवाहपछि चतुर्थीकर्म गर्ने शास्त्रीय परम्परा अनुसार नै खेल र चैतोलहरु हुने गरेको उनले बताए । गौरी र महेश्वरको विवाह उत्सवपछि चतुर्थीकर्म अन्तर्गत खेल र चैतोलहरु हुने गरेका उनले बताए । 

विभिन्न ऐतिहासिक गाथासहितका खेलहरु खेल्ने गरिएको भएपनि पछिल्लो समयमा यस्ता खेलहरु लोप हुँदै गएका छन् । 

यस्तै गौराको अवसरमा महिला तथा पुरुषहरुले ड्यौडा समेत खेल्ने गरेका छन् । अहिले सुदूरका विभिन्न गाउँहरुमा खेल, चैतोल र ड्यौडाको रौनक रहेको स्थानीयहरुले बताएका छन् ।  
 

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १४:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update