Sagun Khabar
देवलहाटको गौरामा लाखे नाच 

बैतडी–सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा अन्तर्गत आज अठ्यावाली मनाइएको छ । गौराको अवसरमा बैतडीका विभिन्न ठाउँमा ऐतिहासिक खेल र नाच प्रर्दशन गर्ने गरिएको छ । 

दशरथचन्द नगरपालिका ४ देवलहाटस्थित गौराखलामा अठ्यावालीका दिन लाखे नाच प्रदर्शन गर्ने गरिएको स्थानीय उद्धवसिंह मार्कण्डले बताए । हरेक बर्ष अठ्यावालीका दिन लाखे नाच प्रर्दशन गरिने देवलहाटको गौरामा यो बर्ष पनि लाखे नाच प्रदर्शन गरिएको उनले बताए । 

Atrya hospital

परापूर्वकालदेखि देवलहाटको गौरामा लाखे नाच देखाउने परम्परा रही आएको स्थानीय ईश्वरीदत्त भट्टले बताए । स्थानीय भट्ट र मार्कण्ड परिवारका पाँच वा सात जनाले शरीरमा लुगा नलगाई रुखका पातहरुले शरीर ढाँकेर हातमा त्रिशुल लिइ लाखे नाच नाच्ने परम्परा रहेको छ । 

सप्तदेवल शिवधाम नजिक रहेको सुकनाली कुवाको पानीले नुहाएपछि लाखे नाचमा सहभागी हुनेहरुले केराको पात लगायत अन्य बिरुवाका पातहरुले शरीर ढाक्ने प्रचलन रही आएको स्थानीय गणेशदत्त भट्टले बताए । लाखे नाचमा सहभागी हुनेहरुले शरीरभरी कमेरो, रातो माटो, खरानी घस्ने गरेको उनले बताए । 

देवलहाट गौरामा प्रदर्शन गरिएको लाखे नाच हेर्नका लागि सदरमुकाम र आसपासका स्थानीयहरु पुगेका थिए । सदरमुकाम नजिकै रहेको देवलहाटमा हरेक बर्ष गौराष्टमी अर्थात अठ्यावालीका दिन लाखे नाच प्रर्दशन गर्ने परम्परा रही आएको छ । 

गौरा पर्व गौरा–महेश्वरको विवाहको सम्झनामा मनाउने परम्परा रहेकाले गौरा खेलाईरहेको अवस्थामा पुरुषहरुले शिवजी जस्तै बनेर लाखे नाच प्रदर्शन गर्ने गरेको मार्कण्डले बताए । उनले भने ‘गौरामा लाखे नाच हुने यो क्षेत्रमा मात्रै हो । यसको प्रचारप्रसार गर्न सकेमा आन्तरिक पर्यटक भित्र्याउन सकिने देखिन्छ ।’

देवलहाटमा रहेका देवलहरु पाण्डवहरुले बनाएको किम्वदन्ती रहेको स्थानीय भट्टले बताए । गौराको समयमा भगवान शिव र पार्वतीको पूजाआजा हुने भएकाले पुरुषहरुले योगीको रुप धारण गरेर लाखे नाच नाच्ने परम्परा रहेको भट्टले बताए । 
 

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १७:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update