Sagun Khabar
सुदूरपश्चिममा आज गौरा एकादशी मनाइँदै 

बैतडी –सुदूरपश्चिमका पहाडी समुदायमा आज गौरा एकादशी पर्व मनाइँदैछ । हरेक बर्षको साउन शुक्ल एकादशी अर्थात पुत्रदा एकादशीलाई गौरा एकादशी पर्वको रुपमा मनाउने गरिएको छ । आजको दिन गौरा उपासना गर्ने महिलाहरुले ब्रत बस्ने गर्दछन् । 

गौरा पर्व उपासना गर्ने ब्रतालु महिलाहरुले गौरा एकादशीको ब्रत बस्नुपर्ने परम्परा रही आएको सुर्नया ६ की हरिना अवस्थीले बताइन् । पहिलो पटक गौराको ब्रत लिने महिलाहरुले अनिवार्य रुपमा गौरा एकादशीको ब्रत उपासना गर्नुपर्ने परम्परा रहेको उनले बताइन् । 

Atrya hospital

गौरा उपासना गर्ने महिलाहरुले आज ब्रत बसेर साँझको समयमा पूजाआजा गर्ने चलन रही आएको छ । गौरामा दुवधागो धारण गर्ने ब्रतालु महिलाहरुले गौरा एकादशीबाटै गौरा पर्व शुरुवात भएको मान्ने गरिएको छ । 

गौरा एकादशी र जनैपूर्णिमा अघि दुबधागो धारण गर्ने परम्परा नरहेकाले भाद्र शुक्ल अथवा कृष्ण पक्षमा मात्रै गौरा पर्व मनाउने चलन रही आएको स्थानीय संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए । उनले भने ‘गौराको ब्रत लिनु अघि गौरा एकादशीको ब्रत लिने परम्परा रही आएको छ ।’

पुत्रदा एकादशीलाई गौरा एकादशीको रुपमा ब्रत लिने चलन रही आएको पण्डित शिवराज भट्टले बताए । गौरा एकादशी र जनैपूर्णिमा पछि गौरा पर्व मनाउने परम्परा रही आएको उनले बताए । गौरा एकादशी र जनैपूर्णिमा पछि दुबधागो धारण गर्ने परम्परा रही आएको छ । 

श्रावण शुक्ल एकादशी अर्थात पुत्रदा एकादशीलाई नै गौरा एकादशीको रुपमा मान्ने गरिएको छ । सन्तान प्राप्ति, सन्तान सुख, पारिवारिक शान्ति र समृद्धिका लागि गौरा पर्व मनाइने भएकाले पुत्रदा एकादशीलाई गौरा एकादशीको रुपमा मान्ने गरिएको आचार्य लेखकले बताए । यो एकादशीको महत्वका बारेमा देवकी र वासुदेवलाई लोमष ऋषिले सुनाएका प्रसंग पूराणहरुमा उल्लेख गरिएको छ । यो एकादशीको ब्रत उपासना गरेमा सन्तान प्राप्ति हुने जनविश्वास रही आएको छ । गौरा पर्वमा पनि सन्तान सुख र पारिवारिक कल्याणका लागि महिलाहरुले ब्रत लिने भएकाले पुत्रदा एकादशीलाई गौरा एकादशी भनिएको लेखकले बताए । 

हरेक बर्ष भाद्र शुक्ल अथवा कृष्ण पक्षको पञ्चमी तिथीबाट गौरा पर्व शुरु हुने गर्दछ । त्यो भन्दा अगाडि साउन शुक्ल एकादशीलाई गौरा एकादशीको रुपमा ब्रत बस्ने चलन रही आएको हो । 

भाद्र शुक्ल पक्षमा परेको गौरालाई उजेली गौरा र भाद्र कृष्ण पक्षमा परेको गौरालाई अँधेरी गौरा भन्ने चलन रही आएको छ । यो बर्ष भाद्र कृष्ण पक्षमा गौरा परेको छ । यो बर्षको गौरा भदौ ७ गतेदेखि शुरु हुँदैछ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  ०८:३१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update