Sagun Khabar
बङ्गलादेशको अन्तरिम सरकार प्रमुखमा मोहम्मद युनुस नियुक्त

नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसलाई बङ्गलादेशको अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरिएको छ । राष्ट्रपतिका सञ्चार सचिवले नोबेल पुरस्कार विजेता अर्थशास्त्री युनुसलाई बङ्गलादेशको अन्तरिम सरकारको प्रमुख बनाएको जानकारी दिएको बीबीसीले जनाएको छ ।

राष्ट्रपति, सेना र विद्यार्थीबीचको बैठकपछि यो निर्णय भएको हो । मोहम्मद युनुसले यो कठिन समयमा आफूलाई नेतृत्व गर्न विद्यार्थीले गरेको आग्रहलाई अस्वीकार गर्न नसक्ने भन्दै हिजो नेतृत्वमा आउन सहमति जनाइसकेका थिए । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले देश छोडेपछि सेना प्रमुखले देशलाई सम्बोधन गर्दै अन्तरिम सरकार गठन गर्ने घोषणा गरेका थिए । 

Atrya hospital

युनुस अहिले उपचारका लागि फ्रान्समा छन् । सरकार प्रमुखमा चुनिएपछि उनी अब स्वदेश फर्किने तयारीमा रहेको खबरमा उल्लेख छ । अहिले अन्तरिम सरकारको प्रमुखमा नियुक्त युनुस बङ्गलादेशका सामाजिक उद्यमी, बैंकर, अर्थशास्त्री र सामाजिक नेता हुन् । 

उनले गरिबी उन्मूलनका लागि गरेको विशेष प्रयासका लागि सन् २००६ मा नोबेल शान्ति पुरस्कार पाएका थिए । युनुसले सन् १९८३ मा गरिबहरूलाई स–साना ऋण उपलब्ध गराउने ग्रामीण बैंक स्थापना गरेका थिए । यसले ठूलो सङ्ख्यामा मानिसहरूको जीवनस्तर उकास्न सफल भएको छ ।

उनी पूर्वप्रधानमन्त्री शेख हसिनाको कट्टर विरोधी मानिन्छन् । कुनै बेला युनुसले पार्टी खोल्ने तयारी समेत गरेका थिए । गएको जनवरीमा युनुसलाई श्रम कानुन उल्लङ्घन गरेको आरोपमा ६ महिना जेल सजाय समेत सुनाइएको थियो ।
 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  ०९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update