Sagun Khabar
रावलाद्री पर्वतमा दर्शनार्थीहरुको भीड 

बैतडी–ऐतिहासिक तथा पौराणिक महत्व बोकेको रावलाद्री पर्वत अर्थात रौलाकेदार धाममा श्रावण महिना शुरु भएयता दर्शनार्थीहरुको घुइँचो लागेको छ । भगवान शिवको बासस्थानको रुपमा रहेको रौलाकेदार धाममा हरेक बर्ष श्रावण महिनाभरी दर्शनार्थीहरुको भीड लाग्ने गरेको मन्दिरका मूल पूजारी विष्णुदत्त भट्टले बताए । 

जिल्लाको सुर्नया गाउँपालिका ५ मा अवस्थित रौलाकेदार धाम हिन्दूहरुको धार्मिक आस्थाको केन्द्र समेत रही आएको छ । यो मन्दिरमा पुग्नका लागि सुर्नया गाउँपालिकाको केन्द्रबाट उकालो चढ्नुपर्ने हुन्छ । श्रावणको महिना शुरु भएसंगै विभिन्न ठाउँबाट दर्शनार्थीहरु पुग्ने क्रम जारी रहेको छ । 

Atrya hospital

रौलाकेदारको उत्पत्ति बद्रीकेदारबाट भएकाले रौलाकेदारको महत्व बद्रीकेदार जत्तिकै रहेको रौलाकेदारका पूजारी  भट्टले बताए । रौलाकेदारको दर्शन गरेमा मनोकामना पूर्ण हुने भएकाले सबैको आस्थाको केन्द्र बन्न पुगेको उनले बताए । 

भगवान शिवका १२ ओटा ज्योर्तिलिङ्ग मध्ये रौलाकेदार पनि एक रहेको जानकारहरुले बताएका छन् । नेपालका प्रथम ऐतिहासिक जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले पनि रौलाकेदार नै केदारनाथ ज्योर्तिलिङ्ग भएको बताएका छन् । रावलाद्री पर्वतमा रहेको हुनाले रौलाकेदार नाम रहन गएको किम्वदन्ती रहेको छ । रौलाकेदराको दर्शन गरेमा बद्रीकेदारको दर्शन गरेजत्तिकै फल प्राप्त हुने जनविश्वास रही आएको छ । 

श्रावणको महिना मन्दिरमा पूजापाठ गर्नेहरुको भीड लाग्ने गरेको अर्का पूजारी कृष्णदत्त भट्टले बताए । रौलाकेदार धाममा पुग्नका लागि बाटो अप्ठ्यारो भएपनि दैनिक सैयौंको संख्यामा दर्शनार्थीहरु पुग्ने गरेका उनले बताए । रौलाकेदारको दर्शन गरेमा मनोकामना पूर्ण हुने भएकाले दर्शनार्थीहरुको भीड लागेको हो । उनले भने ‘रौलाकेदार धाममा श्रावणको महिना दर्शन गर्नेहरुको संख्या बढी हुन्छ । सक्नेले राति जाग्राम गरेर बस्ने गरेका छन् । नसक्नेहरु दर्शन गरेर फर्किने गरेका छन् ।’

रौलाकेदार धाममा श्रावणको महिना पूजापाठ हुने गरेको छ भने कार्तिक शुक्ल सप्तमी र अष्टमीका दिन बिशेष जात्रा हुने गरेको छ । कार्तिकको जात्रामा सुर्नया गाउँपालिका ५ मडस्थित रौलाकेदारको भण्डार घरबाट भण्डारसहित जाने र जात्रा लाग्ने गरेको पूजारी भट्टले बताए । रौलाकेदार धाममा पुग्नका लागि बाटो अप्ठ्यारो भएकाले पदमार्ग निर्माण गर्न सक्ने धार्मिक पर्यटहरुको संख्या अझै बढ्ने स्थानीयहरुले बताएका छन् । पदमार्ग निर्माणका लागि स्थानीय सरकारले ध्यान दिनुपर्नेमा यहाँका नागरिकहरुको जोड रहेको छ । 

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  ०९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update