Sagun Khabar
बङ्गलादेशमा आरक्षण विरोधी प्रदर्शन : मृत्यु हुनेको संख्या २५ पुग्यो

बङ्गलादेशमा आरक्षणको विरोधमा भइरहेको प्रदर्शनमा ज्यान गुमाउनेको सङ्ख्या २५ जना पुगेको छ । प्रदर्शनका क्रममा सयौँ मानिस घाइते भएका र देशभर आन्दोलन हिंसात्मक बन्दा धेरै ठाउँमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको बीबीसीले जनाएको छ । आरक्षण विरोधी प्रदर्शन चर्किँदै गएपछि सरकारले देशका विभिन्न क्षेत्रमा इन्टरनेट सेवा बन्द गरेको छ ।

यसैबीच प्रधानमन्त्री शेख हसिनाको सम्बोधनपछि प्रदर्शन झन् हिंसात्मक बनेको खबरमा उल्लेख छ । प्रधानमन्त्री हसिनाले राष्ट्रका नाममा प्रदर्शनकारीहरूलाई धैर्य रहन आग्रह गर्दै अदालतको माध्यमबाट न्याय मिल्ने बताएकी थिइन् । प्रदर्शनकारीहरूले भने प्रधानमन्त्रीले आश्वासन मात्रै दिएको र सरकारको तर्फबाट आफ्नो सपाइ पेश गरेको भन्दै देशव्यापी बन्दको आह्वान गरेका छन् ।

Atrya hospital

विरोध बढ्दै गएपछि सरकारले यसअघि देशका सबै विश्वविद्यालय, क्याम्पस र विद्यालय अर्काे सूचना नभएसम्मका लागि बन्द गरेको छ । प्रदर्शनकारीहरूले सरकारी जागिरमा आरक्षण खारेज गर्नुपर्ने माग गरेका छन् ।

सरकारी जागिरमा कोटा प्रणालीको विरोधमा विद्यार्थीहरूले हप्तौँदेखि विरोध गर्दै आएका छन् । सन् १९७१ मा बङ्गलादेशको स्वतन्त्रता युद्धमा लडेका सेना र कर्मचारीको परिवारका सदस्यहरूका लागि सरकारी रोजगारीमा आरक्षण छ । ३० प्रतिशत सरकारी रोजगारी आरक्षणमै जाने गरेको छ । तर यो प्रणालीले  प्रधानमन्त्री शेख हसिनाका समर्थक र उनको दल अवामी लिगका कार्यकर्तालाई मात्रै फाइदा पुगेको भन्दै आन्दोलन शुरु भएको हो ।
 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १६:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update