Sagun Khabar
साहित्यले बढाउँदै सीमामा सम्बन्ध 

बैतडी–बैतडीको डिलाशैनी गाउँपालिका ६ गोकुलेश्वरमा दुईदिने चर्मण्वती साहित्य सम्मेलन तथा अन्तर्राष्ट्रिय काव्य गोष्ठी सम्पन्न भयो । असार २ र ३ गते सञ्चालन भएको सम्मेलनमा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय क्षेत्रका साहित्यकारहरु समेत सहभागिता रह्यो ।

नेपालको सुदूरपश्चिम क्षेत्र र भारतको कुमाउ क्षेत्रको संस्कृति, भाषा, भेषभुषा मिल्दोजुल्दो छ । साझा जीवनशैली रहेको यो क्षेत्रमा सीमाको पर्खाल भएपनि भावना र साहित्यको तादम्यताले बेलाबेलामा एकाकार गराउने गरेको छ । 

चर्मण्वती साहित्य सम्मेलन तथा अन्तर्राष्ट्रिय काव्य गोष्ठीमा नेपाल र भारतका साहित्यकारहरुले एकै मञ्चमा आफ्ना प्रस्तुती राखे । एक अर्कादेशका प्रस्तुतीमा दुवै देशका साहित्यकारहरुले सम्बन्ध र भाइचाराको भावना व्यक्त गरे । 

Atrya hospital

साहित्य सम्मेलनमा सहभागी भारतका साहित्यकार डा. पिताम्बर अवस्थीले साहित्यले सीमा क्षेत्रमा सम्बन्ध बलियो बनाउन भूमिका खेलेको बताए । आफूले भारतमा ‘बेटी बचाओ, बेटी पढाओ’तथा नसामुक्त अभियान सञ्चालन गरेकाले सोही अभियानका बारेमा छिमेकी देश नेपालमा समेत अनुभव आदानप्रदान गर्न पाएको बताए । उनले भने ‘साहित्यक सम्मेलनमा सहभागी हुन पाउँदा आफ्नो सामाजिक अभियानको बारेमा बताउन पाए । हाम्रो साझा संस्कृतिका बिषयमा छलफल भयो । यसले सीमा क्षेत्रका हामी नागरिकहरुबीचको सम्बन्धलाई समेत बलियो बनाउन सहयोग गरेको छ ।’

साहित्य सम्मेलनमै प्रसिद्ध कुमाउनी गायिका भगवती दनुपुरिया पनि सहभागी भइन् । उनले गाएका गीतमा नेपाली दर्शक र श्रोताले भरपुर मनोरञ्जन लिए । साझा संस्कृति र साहित्यले सीमा क्षेत्रमा पारिवारिक सम्बन्ध कायम गरेको उनले बताइन् । 

साहित्य सम्मेलनमा वातावरण संरक्षणका बिषयमा पनि चर्चा भयो । भारतको बरेलीबाट आएका साहित्यकार डा. अरुणप्रतापसिंह भदौरियाले आफूहरुले वातावरण संरक्षणमा चालेको अभियानका बारेमा जानकारी दिए । 

नेपालको मानसखण्ड क्षेत्र र भारतको कुमाउ क्षेत्रमा साझा संस्कृति भएकाले साहित्यका माध्यमबाट आपसी सम्बन्ध बलियो हुँदै गएको साहित्यकार रमेश पन्त ‘मितबन्धु’भनाइ छ । उनले भने ‘म पनि भारतका धेरै ठाउँमा साहित्यक कार्यक्रममा सहभागी भएको छु । हाम्रा साझा संस्कृति, साहित्य र भाषाका बिषयमा छलफल भएको छ । यसले हामी सीमा क्षेत्रका बासिन्दाहरुको आपसी सम्बन्ध बलियो बनाएको छ ।’

डिलाशैनी गाउँपालिकाको मुख्य प्रवद्र्धनमा राष्ट्रियता संरक्षण अभियानले आयोजना गरेको गोष्ठीले सभ्यताको विकास र विस्तारका लागि सहयोग पुर्याउने राष्ट्रियता संरक्षण अभियानका अध्यक्ष हेमबाबु लेखकले बताए । उनले भने ‘साहित्यको सीमा हुँदैन् । त्यसैले हामीले आयोजना गरेको साहित्य सम्मेलनमा सीमावर्ती भारतीय साहित्यकारहरुलाई पनि बोलाएका हौं । यसले हामी सीमा क्षेत्रका नागरिकको सम्बन्ध बलियो हुन्छ ।’

साहित्य सम्मेलनको उद्दघाटन सत्रमा सहभागी सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा.हेमराज पन्तले साहित्यका माध्यमबाट समाजमा सकारात्मक वातारणको सिर्जना हुने बताए । 

साहित्य सम्मेलनले सीमा क्षेत्रका नागरिकमा आपसी सम्बन्ध बढाउन महत्वपूर्ण भूमिका खेलेको डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए । दुवै देशका सीमा क्षेत्रका साहित्यक मनहरु एकै ठाउँमा बसेर सभ्यताका बिषयमा छलफल भएको उनको भनाइ छ ।    

Gokuleshwor-1718709242.jpg
 

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update