Sagun Khabar
राष्ट्रिय सभाको उपाध्यक्षमा  एमालेकी  घिमिरे निर्वाचित

काठमाण्डाै – नेकपा (एमाले) की सांसद विमला घिमिरे राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

आज बुधवार राष्ट्रिय सभामा भएको चुनावमा विमला घिमिरेलाई उपाध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावकाे पक्षमा बहुमत भएकाले उहाँ निर्वाचित भएको अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गर्नुभएको हो । एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी) लगायतका सत्तारूढ दलहरूको साझा उम्मेदवार घिमिरेको पक्षमा ३९ मत परेको थियो भने कांग्रेसकी उम्मेदवार विष्णुदेवी पुडासैनीले १६ मत प्राप्त गर्नुभएको थियो । बैठकमा ५५ जना सांसदको उपस्थिति रहेको थियो ।

अध्यक्ष दाहालले नवनिर्वाचित उपाध्यक्ष घिमिरेलाई बधाई दिँदै कार्यकालको सफलताको कामनासमेत गर्नुभयो ।

गएकाे चैत १५ गते तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिनुभएकाे थियाे । राष्ट्रिय सभाको अर्को बैठक चैत ३० गते शुक्रवार एक बजेर १५ मिनेटमा बस्ने गरी बोलाइएको छ ।

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update