Sagun Khabar
पाटन–पञ्चेश्वर सडकको ‘जिरो प्वाइन्ट’मा प्राविधिक टोली, स्तरोन्नतीका लागि सर्वे गरिँदै  

बैतडी –बैतडीको पाटन –पञ्चेश्वर सडकखण्डको ‘जिरो प्वाइन्ट’देखि ३ किलोमिटर सम्म स्तरोन्नतीका लागि पहल शुरु भएको छ । सो सडकखण्ड पूर्वाधार विकास कार्यालय मातहत आएपछि सडक स्तरोन्नतीका लागि पहल शुरु भएको पूर्वाधार विकास कार्यालय बैतडीका इन्जिनियर नरेश भुलले बताए । 

सडक डिभिजन कार्यालयबाट यही पौष १ गते उक्त सडक पूर्वाधार विकास कार्यालय मातहत आएको थियो । पाटन –पञ्चेश्वर सडक पूर्वाधार विकास कार्यालय मातहत रहेको भएपनि जिरोप्वाइन्टदेखि ३ किलोमिटर सम्म सडक डिभिजन कार्यालय मातहत रहेको थियो । 

Atrya hospital

जिरोप्वाइन्टदेखि ३ किलोमिटर सम्मको भाग स्तरोन्नती नहुँदा सडक धुलाम्य भएपछि स्थानीयहरुले अवरोध गरेका थिए । धुलोले बाटोमा हिड्न सक्ने अवस्था समेत नभएपछि स्थानीयहरुले सडक स्तरोन्नतीको माग गरेका थिए । 

सडक स्तरोन्नती नभएको भन्दै स्थानीयहरुले सडकमा सवारी आवागमनमा समेत रोक लगाउन थालेपछि सडकको नापजाँचका लागि प्राविधिक टोली खटिएको छ । पूर्वाधार विकास कार्यालयले उक्त खण्ड स्तरोन्नतीका लागि नापजाँच गर्न बुधबारदेखि प्राविधिकहरुको टोली खटाएको हो । 

प्राविधिक टोलीले नापजाँचको काम गरिरहेको र पर्सी मन्त्रालयमा रिर्पोट पठाइने इन्जिनियर भुलले बताए । बहुबर्षीय ठेक्का गरेर सडक स्तरोन्नती गरिने इन्जिनियर भुलले बताए । सबै प्रक्रिया पूरा गर्दा सडक स्तरोन्नतीको काम शुरु गर्न कम्तीमा तीन महिना लाग्न सक्ने उनले बताए । उनले भने ‘हामीले पाटन –पञ्चेश्वर सडकको जिरोप्वाइन्टदेखि ३ किलोमिटर सम्मको भाग स्तरोन्नतीका लागि पहल थालेका छौं । नापजाँचको फाइल मन्त्रालय लगेर यसका लागि बहुबर्षीय ठेक्काको प्रक्रिया अघि बढाउने कोसीस गर्छौं ।’

लामो समयदेखि पाटन –पञ्चेश्वर सडकको जिरोप्वाइन्टदेखि ३ किलोमिटरसम्मको भाग स्तरोन्नती नहुँदा स्थानीयहरुले सास्ती भोग्दै आएका छन् । बर्षातमा हिलाम्य र हिउँदमा धुलाम्य हुँदा सडकमा हिँडडुल गर्न निकै मुस्कील हुने भएको छ । उक्त सडक भएर विद्यालय जाने तथा अन्य कामका लागि सडकमा हिँडडुल गर्नेहरुलाई निकै सास्ती हुने गरेको छ । 

सडक धुलाम्य हुँदा बस्ती नै प्रभावित भएपछि स्थानीयहरुले आवागमनमा समेत रोक लगाएका थिए । सडक सर्वेको काम शुरु भएकाले अब स्तरोन्नती हुन्छ कि भन्ने आसा पलाएको पाटन नगरपालिका वडा नं ६ का वडा अध्यक्ष राजेन्द्रसिंह बिष्टले बताए । नगरपालिकाकातर्फबाट धुलाम्य सडकमा पानी हाल्ने काम भइरहेको उनले बताए । 
 

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update