बैतडी –बैतडीको प्रसिद्ध मेलौली भगवती मन्दिरमा लाग्ने ‘देहीजात’यही मंसिर १० र ११ गते हुने भएको छ । हरेक बर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन लाग्ने जात्रालाई ‘देहीजात’ भन्ने गरिन्छ ।
मेलौली नगरपालिका १ स्थित प्रसिद्ध मेलौली भगवती मन्दिरमा लाग्ने ‘देहीजात’मा टाढाटाढाका भक्तजनहरु समेत आउने गरेको मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदीशसिंह नायकले बताए । सो जात्रामा राँगाको बलि दिइने गरेको उनले बताए ।
‘देहीजात’मा मेलौली भगवतीको दर्शनका लागि नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत आउने गरेका नायकले बताए । यो जात्रामा आफन्तजनहरुले भेटघाटको रुपमा समेत लिने गर्दछन् । टाढाटाढाका आफन्तबीच भेट हुने भएकाले सामाजिक सदभावका लागि यो जात्रा निकै महत्वपूर्ण रहेको बताइएको छ ।
यस्तै जात्रामा स्थानीय उत्पादनले समेत बजार पाउने गरेको छ । यो जात्रामा यहाँको लोकप्रिय खाना माँडा समेत पाइने गरेको छ । आफन्तजन तथा इष्टमित्रहरुका लागि जात्रामा आउनेहरुले माँडा लिएर आउने प्रचलन रहेको छ ।