बैतडी–सुदूरपश्चिमका प्रसिद्ध धार्मिक स्थलमध्ये बैतडीस्थित त्रिपुरासुन्दरी भगवती मन्दिरको जात्रा यही मंसिर ५ र ६ गते हुने भएको छ ।
हरेक बर्ष कार्तिक शुक्ल पक्षको अष्टमी र नवमी तिथीमा सो मन्दिरमा जात्रा लाग्ने गरेको छ । कार्तिक कृष्ण औंसीको ८ दिनपछि त्रिपुरासुन्दरी भगवती मन्दिरमा जात्रा हुने स्थानीय गणेशसिंह थापाले बताए ।
अष्टमीको दिन नानी जात र नवमीको दिन ठूली जात भन्ने चलन रही आएको थापाले बताए । अष्टमीका दिन नजिकै रहेको भण्डार घरबाट भण्डार ल्याएर जात्राको शुरुवात गरिने उनले बताए ।
त्रिपुरासुन्दरीको जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरुको सहभागिता रहने गर्दछ । त्रिपुरासुन्दरीको दर्शनका लागि भारतको झुलाघाट, पिथौरागढ, नैनीताल लगायतका क्षेत्रबाट भक्तजनहरु आउने क्रम शुरु भइसकेको स्थानीय आनन्दमणी भट्टले बताए । यो जात्रामा राँगाको बलि दिने गरिएको छ ।
कार्तिक शुक्ल अष्टमीका दिन जात्रा शुरु भएपछि नवमीको बिहान कापडीगाउँमा भगवतीको सवारी गराउने चलन रही आएको भट्टले बताए । भैलो गाउँदै कापडीगाउँमा भगवतीको सवारी गराउने चलन रहेको छ । कापडीगाउँलाई त्रिपुरासुन्दरीको माइतीगाउँको रुपमा लिने गरिएको छ ।
कापडीगाउँबाट भगवती फर्काउने बेला भने बाटोबाट नभएर अन्यत्रैबाट दौडाएर मन्दिरमा पुर्याउने चलन रही आएको छ ।
१२ औं शताब्दीमा बैतडीकै रोडीदेवलबाट त्रिपुरासुन्दरी आएको जनविश्वास रही आएको छ । मौनी थरका एकजना अन्न किन्नका लागि रोडीदेवल पुगेका र उनले किनेर ल्याएको जौंमा भगवती आएको किम्वदन्ती रहेको छ ।
एकरैण्या जौंमा भगवती आएकाले त्रिपुरासुन्दरी भगवतीलाई रणशैनी समेत भन्ने गरिएको थापाले बताए । त्रिपुरासुन्दरी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।
सीमामा सम्बन्ध प्रगाढ बनाउने जात्रा
त्रिपुरासुन्दरी भगवती मन्दिरमा लाग्ने जात्रालाई सीमामा सम्बन्ध बढाउने जात्राको रुपमा लिने गरिएको छ । यो जात्रामा सैयौं भारतीय दर्शनार्थीहरु आउने भएकाले सीमा क्षेत्रका नागरिकको सम्बन्ध बलियो भएको दशथचन्द नगरपालिका वडा नं ८ का वडा अध्यक्ष चामुसिंह थापाले बताए ।
वारीपारी रोटीबेटीको सम्बन्धका साथै धार्मिक सम्बन्ध समेत रहेकाले सीमा क्षेत्रका नागरिकमा सदभाव रहेको उनले बताए । त्रिपुरासुन्दरीको दर्शनका लागि भारतीय दर्शनार्थीहरु अगाध श्रद्धाका साथ पुग्ने गरेको उनले बताए । उनले भने ‘त्रिपुरासुन्दरी जात्रामा भारतीय दर्शनार्थीहरु समेत आउने गरेका छन् । यसले सीमा क्षेत्रमा धार्मिक सहिष्णुता, आपसी सम्बन्ध बलियो बनाउन सहयोग गरेको छ ।’
बैतडीमा रहेको त्रिपुरासुन्दरी भगवतीप्रति सीमाक्षेत्रका भारतीय नागरिकहरुको अगाध श्रद्धा रहेको भारतीय पत्रकार प्रमोद भट्टले बताए । सीमा क्षेत्रमा पारिवारिक,धार्मिक र सामाजिक सम्बन्ध रहेको र त्रिपुरामा लाग्ने जात्राले यो सम्बन्धलाई बलियो बनाउने उनले बताए ।
धार्मिक सम्बन्धका कारण समेत सीमा क्षेत्रका नागरिकहरुमा आपसी सद्भाव रहेको भट्टले बताए ।