बैतडी –बैतडीको पुर्चौंडी नगरपालिका ८ मल्लादेहीस्थित प्रसिद्ध डिलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा ताका जात्रा लागेको छ । भाद्र शुक्ल द्वादशीबाट शुरु भएको जात्रा भाद्र शुक्ल पूर्णिमाको बिहान सम्म रहने मन्दिरका पूजारी हरिशचन्द्र भट्टले बताए ।
स्थानीय भाषामा ‘ताका जात’भनिने यो जात्रामा टाढाटाढाबाट दर्शनार्थीहरु आउने गरेको पूजारी भट्टले बताए । आज दिउँसो भगवतीको पूजाआजा गरेपछि अनन्त डोरो बाँध्ने चलन रही आएको छ । भगवतीको प्रसादको रुपमा डोरो बाँध्ने चलन रही आएको उनले बताए ।
अनन्त डोरोले रोगब्याधी र अन्य कष्टबाट बचाउने जनविश्वास रही आएको पूजारी भट्टले बताए । बिशेष मन्त्रद्वारा अभिमन्त्रित डोरोलाई महिला तथा पुरुष दर्शनार्थीहरुले नाडीमा बाँध्ने गरेका छन् । उनले भने ‘अनन्त डोरो अनन्त भगवानको प्रसादको रुपमा ग्रहण गर्ने चलन रही आएको छ । अनन्त डोरो बाँधेमा रोगब्याधी,दुखकष्ट हट्ने जनविश्वास रही आएको छ ।’
यस्तै अनन्त चतुर्दशीका अवसरमा डिलाशैनी भगवतीमा गौरा भित्र्याउने चलन समेत रही आएको छ । भदौको महिना मनाइने गौरामा महिला ब्रतालुहरुले गौरा भित्र्याउने चलन रही आएको भएपनि अनन्त चतुर्दशीको दिन पुरुषहरुले गौरा भित्र्याउने चलन रही आएको पूजारी भट्टले बताए ।
डिलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा लाग्ने ‘ताका जात’पूर्णिमाको बिहान पूजाआजापछि समापन हुने गर्दछ । भाद्र शुक्ल द्वादशीका दिन भण्डार घरबाट ल्याएको भण्डारलाई पूर्णिमाको दिन फेरि भण्डार घरमै पुर्याउने चलन रही आएको छ ।
मल्लादेहीस्थित डिलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीका साथै असोजको नवरात्री, कार्तिक शुक्ल पक्ष र चैते नवरात्रीमा जात्रा हुने गरेको छ । अन्य बेलाको जात्रामा बलि हुने भएपनि अनन्त चतुर्दशीको जात्रामा बलि नहुने पूजारी भट्टले बताए ।
यस्तै पुर्चौंडीको तल्लादेहीस्थित डिलाशैनी भगवती मन्दिरमा पनि अनन्त चतुर्दशीको अवसरमा जात्रा लाग्ने गर्दछ ।
पुर्चौंडीका विभिन्न धार्मिक स्थलहरुमा अनन्त चतुर्दशीको अवसरमा जात्रा लाग्ने भएकाले पुर्चौंडी नगरपालिकाले आज सार्वजनिक बिदा समेत दिएको छ ।