Sagun Khabar
दार्चुलामा पहिरोमा पुरिएर तीनजनाको मृत्यु 

दार्चुला –दार्चुलामा पहिरोमा पुरिएर एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ । नौगाड गाउँपालिका–३ देउलाडमा अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा दुई जना र पहिरोमा परेर थप एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोले घर पुरिदा ७२ वर्षीया गेउडीदेवी ठगुन्ना, उनकी ३ महिनाकी नातनी मञ्जरी ठगुन्ना र २९ वर्षीय लक्ष्मण सितोलीको मृत्यु भएको नौगाड गाउँपालिकाका नायब सुब्बा नरेन्द्रसिह ठगुन्नाले जानकारी दिए  ।

मृतकको शव प्रहरी र स्थानीय सहयोगमा निकालिएको जनाइएको छ । बिहीबार बिहान घरमाथिबाट एक्कासी बाढि पहिरो आएपछि घर पुरिएको हो । नौगाडमा पहिरोका कारण ३ वटा घर पूर्ण रुपमा क्षति भएको छ ।

Atrya hospital

यस्तै दर्जनौ घरहरु बाढिको उच्च जोखिममा छन् । बाढि गएको क्षेत्रमा उद्धार गर्न बाटो अवरुद्ध भएको छ । पहिरोले जामीरमा रहेको झोलुंगे पूल बगाएको छ । जामिर खोलामा बाढि पसेपछि एक गाउँबाट अर्को गाउँ जाने बाटोहरु बन्द भएको स्थानीय चन्द्रावती ठगुन्नाले बताइन् ।

बाढीले नौगाड गाउँपालिका ३ मा रहेको ३२ किलोवाट क्षमताको खार खोला दोस्रो लघु जलविद्युत आयोजना पनि बगाएको छ । अविरल वर्षापछि खोलामा आएको बाढीले जलविद्युत आयोजनाका सबै संरचना पूर्ण रुपमा ध्वस्त बनाएको छ । 

प्रकाशित मिति: बिहीबार, असार २४, २०७८  १८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update