Sagun Khabar
सुदूरपश्चिमका पाँच जिल्लाको जनजीवन प्रभावित,  साढे दुई हजारभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारियो

बैतडी–वर्षासँगै आएको बाढीका कारण सुदूरपश्चिमका पाँच जिल्लाको जनजीवन प्रभावित भएको छ । कैलाली, कञ्चनपुर, दार्चुला, बैतडी र अछामका दुई हजार जनाभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरुलाई विद्यालय, सामुदायिक भवन र अस्थायी टेन्टमा सारिएको छ । कैलालीमा पाँच सय ७८ जना, कञ्चनपुरमा एक हजार सात सय ३८ जना, दार्चुलामा ९९ जना र बैतडीमा एक सय ८० जनालाई डुबान क्षेत्रबाट सुरक्षित ठाउँमा सारिएको छ । बाढी बस्तीमा पसेपछि कञ्चनपुरबाट ३९ जनाको उद्धार गरिएको छ ।

Atrya hospital

कन्चनपुरमा घरमा बाढी पसेपछि खाटबाट लडेर पानीमा डुब्दा ७ महिने बालकको ज्यान गएको छ । कञ्चनपुरमा महाकाली र जोगबुडा नदी बस्तीमा पसेको छ । बेलडाँडी, भिमदत्त र दोधारा क्षेत्र धेरै प्रभावित भएको छ । कञ्चनपुरमा नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् ।

यसैबीच नेपालमा मनसुन भित्रिएयता मनसुनजन्य विपदबाट ज्यान गुमाउनेको सङ्ख्या ७० जना पुगेको छ । जेठ २८ गतेदेखि आज बिहानसम्म बाढीपहिरो र चट्याङमा परेर ७० जनाको ज्यान गएको, पाँच जना वेपत्ता भएका र ८६ जना घाइते भएका केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

जेठ २८ गतेपछि बाढीपहिरोका नौ सय ६६ घटना घटेका छन् । घटनामा तीन सय ३५ पशु चौपाय मरेका छन् ।   

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update